अवलोकनका लागि बिहीबार बिहान नारायणहिटी दरबार संग्रहालय पुगेका प्रधानमन्त्रीले नारायणहिटी संहारको उक्त घटनालाई अत्यन्तै दर्दनाक र रहस्यपूर्ण रहेको संज्ञा दिए । ‘मेरो कार्यकालमा छानबिन गर्ने विचार थियो, तर अब समय बाँकी रहेन, यसको गम्भीरतापूर्वक अध्ययन र छानबिन गरिनु आवश्यक छ,’ उनले भने ।
प्रधानमन्त्री खनालले करिव डेढ घण्टा नारायणहिटी दरबार संग्रहालयको अवलोकन भ्रमण गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
०४७ सालको अन्तरिम सरकारमा आफैले कृषि मन्त्रीको शपथ लिएको कास्की बैठकबाट प्रधानमन्त्रीले अवलोकन सुरु गरेका थिए । त्यसपछि उनले म्याग्दी, पर्वत, रुकुम, दैलेख, बैतडी, अछाम, बाजुरा, जुम्ला, हुम्ला, डोल्पा, गोरखा, मुगु, धनकुटा, गुल्मी, धादिङ, लमजुङ, धनुषा र सर्लाही बैठक कक्षहरुको अवलोकन गरे ।
प्रधानमन्त्री खनालले त्यसपछि राजसिंहासन रहेको स्थानप्रति विशेष अभिरुचि राखे । सोही स्थानमा तत्कालीन राजा वीरेन्द्रबाट ०४७ को संविधान जारी गरिएको थियो ।
प्रधानमन्त्री खनालले संग्रहालयमा रहेको आगन्तुक पुस्तिकामा लेखे, ‘यो दरबार नेपाल र नेपालीको अत्यन्त महत्वपूर्ण धरोहर हो, राष्ट्रिय सांस्कृतिक सम्पदा हो । यसको संरक्षण-सम्बर्द्धन गर्न हामीले उच्च महत्व र प्राथमिकता दिनु जरुरी छ । यो हाम्रो लागि चुनौति हो ।’
०५८ जेठ १९ को नारायणहिटी-संहार भएको, तर ०६२ सालमा भत्काइएको त्रिभुवन सदन अवस्थित क्षेत्रको पनि प्रधानमन्त्रीले निरीक्षण गरे । त्यहाँनेर प्रधानमन्त्री खनालले प्रश्न गरे, ‘यो किन भत्काइएको रहेछ ?’
उनले राजा वीरेन्द्र रक्ताम्य भई ढलेको त्रिभुवन सदनको विलियर्ड हल, अधिराजकुमार निराजनको शव भेटिएको शालिक छेउ, युवराज दीपेन्द्रको भत्काइएको एकतल्ले निवास र उनको शव भेटिएको सानो पोखरी रहेको क्षेत्र, रानी ऐश्वर्यको शव भेटिएको स्थान आदिको पनि भ्रमण गरे ।
प्रधानमन्त्रीले संग्रहालयको ऐतिहासिक पक्षको जीवन्तरुपमा संरक्षण, पुनःनिर्माण र व्यवस्थापन गर्न तथा कार्यरत जनशक्तिको दक्षता अभिबृद्धि एवं तालिम र वृत्तिविकासमा पनि उचित ध्यान पुर्याउन जरुरी रहेको आवश्यकता पनि औंल्याए । ‘यस दरबारबाट नेपालको इतिहासको महत्वपूर्ण कालखण्ड संचालित रहृयो । विभिन्न तन्त्र र राजनीतिक परिपाटीहरु बदलिनु स्वभाविक हो । तर यस्ता महत्वपूर्ण सम्पदाहरुको संरक्षण र सम्बर्द्धनको सम्पूर्ण काम राष्ट्रले नै गर्नुपर्दछ,’ उनले भने ।
विभिन्न ५५ वटा जिल्लाको नामबाट बैठक कक्षहरुको नामाकरण गरिएको नारायणहिटी दरबार ०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।



