रुकुममा १११ जना विद्यार्थीको एसएलसी रजिस्ट्र्रेशन फारम रद्द

– कमल थापा

 

रुकुम  – रुकुममा जिल्ला शिक्षा कार्यालय १ सय ११ जना विद्यार्थीको एसएलसी रजिस्ट्र्रेशन फारम रद्द गरिदिएको छ। जिल्लाका ४२ माध्यमिक विद्यालयको रजिस्ट्रेसन फारम छानबिनपछि नक्कली विद्यार्थी फेला परेका हुन्।

ती विद्यालयले ८ कक्षा पास नगरेका विद्यार्थीको आवेदन बुझाएको जिल्ला शिक्षा कार्यालयका खिमबहादुर खड्काले बताए। ‘शंका लागेकाले छानबिन गरेका थियौं, ४२ माविले नक्कली विद्यार्थीको आवेदन गरेका रहेछन्,’ खड्काले भने, ‘अन्य २३ माविलाई समेत छानबिनको दायरामा ल्याउने तयारी भइरहेको छ।’


नक्कली विद्यार्थीको एसएलसी आवेदन भर्ने विद्यालय र विद्यार्थीलाई कानुनी कारबाही गरिने शिक्षा कार्यालयले जनाएको छ। जिल्लाका ४३ गाविसमा ६५ मावि सञ्चालनमा छन्।

अनुमति नपाएका ४ विद्यालयले नजिकका माविसँग मिलेर एसएलसी दिँदै आएका छन्। जिल्लामा पढाई छाडेका, पढ्न नपाएका र नियमित विद्यालय जान नसक्नेका लागि एक खुला विद्यालय पनि छ।

सबैभन्दा बढी नक्कली विद्यार्थी खुला विद्यालयमा फेला परेका छन्। चौरजहारीको खुला विद्यालयबाट रुकुम, जाजरकोट, सल्यान, बाँके र बर्दियासम्मका नक्कली विद्यार्थी भेटिएको खड्काले बताए।