माओवादी सभासद् एवं मजदुर नेता शालिकराम जमकट्टेलमाथि राजधानीमा आक्रमण

काठमाडौं – एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी सभासद् एवं मजदुर नेता शालिकराम जमकट्टेलमाथि शनिबार साँझ राजधानीमा आक्रमण भएको छ ।

एक कार्यक्रममा सहभागी भएर बबरमहलस्थित निवासतर्फ जानेक्रममा उनीमाथि साँझ पौने ८ बजे गर्धनमा धारिलो हतियार प्रहार भएको हो । सुरुमा उनीमाथि गोली प्रहार भएको भनिए पनि पछि चिकित्सकहरुले धारिलो हतियार प्रहार गरेको पुष्टि गरेका थिए ।

घाइतेलाई अस्पतालमा भेटेर फर्किएका सूचना तथा सञ्चार मन्त्री पोष्टबहादुर बोगटीले जमकट्टेलको गर्धनमा गहिरो चोट लागेको जानकारी दिए । निवास जानेक्रममा बबरमहलस्थित रातो भाले रेस्टुरेन्ट अगाडि मोबाइलमा कुरा गरिरहेकाबेला उनीमाथि पछाडिबाट आक्रमण भएको बोगटीले जानकारी दिए ।

नेता जमकट्टेललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । हतियार प्रहारपछि लडेका उनलाई एक मजदुरले उठाएर अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै उनको सिटी स्क्यान गरिएको थियो । घाइते जमकट्टेलको अवस्था चिन्तामुक्त रहेको अस्पताल स्रोतले बताएको छ ।

घटनाको एक घण्टापछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सञ्चार मन्त्री पोगटी नर्भिक अस्पताल पुगेर घटनाबारे जानकारी लिए ।

घटनालगत्तै राजधानीका विभिन्न ठाउँमा प्रहरीले चेकजाँच सुरु गरेको छ । अस्पतालमा माओवादी नेता एवं मजदुर नेता कार्यकर्ताको उपस्थित भएका थिए ।

जमकट्टेल धादिङ क्षेत्र नं. ३ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

माओवादी निकट अखिल नेपाल मजदुर संघका पूर्व अध्यक्ष जमकट्टेल संगठनभित्र विवादित थिए । उनकै कार्यकालमा संगठन तीन टुक्रामा विभाजित भएपछि पार्टी हस्तक्षेप गरी उनलाई हटाइएको थियो ।

यसैबीच सञ्चारमन्त्री एवं मजदुर ईञ्चार्ज बोगटीले जमकट्टेलमाथिको आक्रमण पार्टीका कार्यकर्ताबाट नभएको दाबी गरे । ‘यो आक्रमण आन्तरिक होइन,’ उनले भने, ‘जताबाट भए पनि आपराधिक घटना हो ।’