
प्रधानमन्त्री भए लगत्तै विपक्षी दलका नेताहरुसंग छलफल थालेका भट्टराई बुधबार बिहान खनाल निवास डल्लु पुगेका थिए । मंगलबार उनले काग्रेस सभापति सुशिल कोइरालालाई भेटेका थिए । प्रधानमन्त्री भट्टराईले खनालसंग शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढाउन उच्च स्तरिय राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव पनि गरेका थिए ।
भेटमा अध्यक्ष खनालले शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा आफ्नो दलको सधै सहयोग रहने प्रतिबद्घता जनाएका थिए । ती काम अघि बढाउन राष्ट्रिय सहमति आवश्यक रहेकोले त्यसका लािग पहल गर्न उनले प्रधानमन्त्री भट्टराईलाई सुझाव दिएका थिए । उनले यही सरकारमा एमाले सामेल हुने कुरा असम्भव रहेको बताए ।
‘ जुन प्रक्रियाबाट सरकार गठन भएको छ त्यसैले यसलाई राष्ट्रिय सहमतिको स्वरुप दिन असम्भव छ’ भेटपछि अध्यक्ष खनालले संचारकर्मीहरुसंग भने,’ तर शान्ति र संविधानका बिषयमा एक डाउमा आउन सकियो भने सहमतिको वातावरण बन्छ सक्छ ।’
यसैबीच काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष खनालाई भेटी शान्ति प्रक्रियाका सम्बन्धमा साझा धारणा बनाएर अघि बढ्न आग्रह गरेका छन् । पौडेल खनाललाई भेट्न डल्लु पुगेका थिए ।



