काठमाडौ – एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी लडाकुका सातवटा शिविरमा हतियार भण्डारण गरिएको कन्टेनरको चाबी विशेष समितिलाई बुझाउने विषयमा माओवादी भित्र विवाद देखिएको छ । बुधबारको विशेष समितिको बैठकमा कन्टेनरको चाबी बुझाउन माओवादी सहमत भएको थियो । बैठकमा भएको सहमति अनुसार माओवादीले कन्टेनरको चाबी आज(बिहीबार) समितिलाई बुझाउने तय भएको थियो ।
माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधरले चाबी बुझाउन नहुने अडान लिएपछि माओवादी भित्र विवाद देखिएको छ । वैद्य पक्षधर सचिव सीपी गजुरेलले कन्टेनरको चाबी आज नबुझाइने बताए । रिपोटर्स क्लवमा बोल्दै गजुरेलले मोडालिटी र प्याकेजमा सहमति भए कन्टेनरको चाबी स्वतः समिति मातहत जाने भएकाले तत्काल नबुझाइने दावी गरे । उनले पहिला समायोजनको मोडालिटी, राहत र पुनःस्थापनाको प्याकेजमा सहमति हुनुपर्ने बताए ।
‘कन्टेनरका चाबी अहिले बुझानेछैन,’उनले भने-‘विशेष समिति बैठकमा पनि चाबी दिने ठयाक्कै भनेको छैन । पार्टी भित्रपनि फरक मतहरु छन् । पार्टीका एकजना दुई जनाले भनेर हुँदैन । पार्टीले निर्णय गरेको छैन ।’
अर्को प्रसंगमा उनले शुक्रबार मन्त्रिपरिषद्को विस्तार हुने बताए । माओवादीबाट मन्त्री बन्नेहरुको नाम शीर्ष तहबाट टुङ्गो लाग्ने उनले जनाए । मोर्चाले पाइसकेकाले माओवादीबाट थप अर्को उपप्रधानमन्त्री राख्ने तयारी भइरहेको तर मोर्चाले थप दावी गरे एकजना मात्र उपप्रधानमन्त्री हुन सक्ने सम्भावना पनि रहेको उनले बताए ।



