काठमाडौं – एकीकृत माओवादी लडाकुका हतियार भण्डारण गरिएको कन्टेनरको साँचो बुझाएकोमा बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले आपत्ति जनाएका छन् ।
दिनभर भएको वार्तापछि पनि अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराईको दबाबमा कन्टेनरको साँचो बुझाएपछि वैद्यले आपत्ति जनाएका हुन् । साँझ राजधानीमा गोप्य बैठकपछि वैद्यले केन्द्रीय समितिको लेटरप्याडमै विज्ञप्ती जारी गर्दै असन्तोष व्यक्त गरेका हुन् ।
शान्ति र संविधानका दुई कार्यभारमध्ये शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण अंग सेना समायोजनलाईमात्र अगाडि बढाएकोमा वैद्यको आपत्ति छ । वैद्यले जबरजस्ती साँचो बुझाएर जनसेना विघटन गर्ने षड्यन्त्र भएकोसमेत आरोप लगाएका छन् ।
‘हिजो बसेको ‘सेना समायोजन सम्बन्धी विशेष समिति’द्वारा आज दिनको ५ बजे विशेष समितिलाई कन्टेनर र हतियारको चाभी बुझाउने भन्ने आकस्मिक तथा आश्चर्यजनक रुपमा जुन निर्णय गरिएको छ त्यो जनमुक्ति सेनालाई निशस्त्र पारी विघटन गर्ने निर्णय हो,’ विज्ञप्तीमा भनिएको छ, ‘हामी यसप्रकारको निर्णयको घोर विरोध तथा भत्र्सना गर्दछौं र यो आत्मघाती निर्णयलाई अबिलम्ब खारेज गर्न सबै सम्बद्ध पक्षलाई हार्दिक अपिल गर्दछौं ।’
पार्टीका बैठकहरुमा सम्मानजनक रुपमा सेना समायोजन गर्नेबारे पटक पटक निर्णयहरु हुँदै आएको उल्लेख गर्दै उनले सेना समायोजनको प्रक्रियामा मोडालिटी र पुनर्स्थापनाको प्याकेज आदि कुरा टुंगिएपछि पुर्नवर्गीकरण सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।



