मधेसी फोरमका जेपी गुप्ताद्धारा माओवादीले पूर्वसहमति पालना नगरेको भन्दै तीब्र असन्तुष्टि, उपप्रधान विजयकुमार गच्छदार पनि माओवादीप्रति रुष्ट

काठमाडौं  – एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले पूर्वसहमति पालना नगरेको भन्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले तीब्र असन्तुष्टि जनाएका छन् । उनले ‘अप्रिय’ निर्णय लिन सक्नेसमेत चेतावनी दिए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरको भक्तपुर ठिमीस्थित निवासमा मधेसी मोर्चाको बैठकमा सहभागी हुनेक्रममा गुप्ताले यस्तो चेतावनी दिएका हुन् ।

‘मोर्चा र माओवादीबीच गठबन्धन सुरु गर्दादेखि नै मैले पनि कुरा गरेको थिएँ,’ उनले पूर्व प्रतिबद्धताप्रति माओवादी उदाशिन रहेको आरोप लगाउँदै भने, ‘त्यस बखतमा भएको ‘कमिटमेन्ट’ पूरा गरेको छैन । मेरो नजरमा माओवादीले सहमति विथोल्न सुरुवात गर्न लागेको मलाई व्यक्तिगत आभाष भएको छ ।’

माओवादीले शुक्रबारसम्ममा पनि प्रतिबद्धता पालना नगरे अप्रिय निर्णय गर्ने उनको चेतावनी थियो । ‘माओवादीले भोलिसम्म पनि मोर्चासँग भएको सहमति पालना नगरे मैले भोलि अर्कै निर्णय लिन सक्छु,’ उनले भने ।

स्रोतका अनुसार माओवादी-मोर्चा गठबन्धन बनाउन सक्रिय गुप्ता उपप्रधानमन्त्रीको आश्वासन पूरा नभएकोमा रिसाएका छन् । स्रोत भन्छ, ‘उपप्रधानमन्त्री वा राम्रो मन्त्रालय नपाए गुप्ताले कि समर्थन फिर्ता लिन सक्छन् या सरकारमा नजाने निर्णय लिन सक्छन् ।’

गच्छदारलाई पनि चित्त बुझेन

मधेसी मोर्चाबीच मन्त्रालय बाँड्न सक्रिय फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार पनि माओवादीप्रति रुष्ट छन् ।

मोर्चाभित्र सहमति जुटाउन बाँडिएका मन्त्रालयमध्ये एक साट्न गरेको अनुरोध माओवादीले नमानेपछि उनी रुष्ट देखिएका हुन् । उनले मोर्चाको भागमा परेका महिला बालबालिका तथा समाजकल्याण, कानुन र वातावरणमध्ये एक मन्त्रालयसँग माओवादीको भागमा परेका शिक्षा तथा श्रम मन्त्रालयमध्ये एक साट्न आग्रह गरेका थिए ।

लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा सहभागी हुनुअघि गच्छदारले भने शुक्रबारसम्ममा सहमति हुनसक्ने दाबी गरे । ‘हामी सहमतिबाट टुंग्याउछौं । हामीबीच विवाद छैन,’ बरु माओवादीमा नै समस्या रहेको उल्लेख गर्दै उनले भने, ‘ठूलो पार्टीमा त गाह्रो छ भने हामी पाँच पार्टी छौं, सवैको चित्त बुझाउनुपर्छ, समय त लागिहाल्न नि ।’

मोर्चा बैठक जारी

तमलोपा अध्यक्ष महन्थ ठाकुरको भक्तपुर ठिमीस्थित निवासमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जारी छ ।

मन्त्रिमण्डलमा पठाउने सदस्यहरुको नाम चयन गर्न बैठक बसेको हो । यसअघि भएका बैठक मन्त्रालय बाँटफाटमा विवाद भएपछि निर्णयमा पुग्न सकेका थिएनन् ।

बैठकमा तमलोपा अध्यक्ष ठाकुरसहित मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, फोरम गणतान्त्रिकका जेपी गुप्ता, तमलोपा नेपालका महेन्द्रप्रसाद यादव र सदभावना पार्टीका राजेन्द्र महतो सहभागी छन् ।