माओवादीमा रडाँको : चाबी बुझाउने निर्णयविरुद्ध बैक्ष पक्षद्वारा देशव्यापी प्रदर्शन

लडाकूको हतियार राखिएका कन्टेनरको चाबी विशेष समितिलाई बुझाउने पार्टी निर्णयविरुद्ध एकीकृत माओवादी उपाध्यक्ष मोहन बैद्य समूहका कार्यकर्ताले शुक्रबार बिहान एक घण्टा चक्काजाम गरेका छन् ।


बैद्य समूहले बिहान साढे नौ बजेदेखि एक घण्टासम्म राजधानीलगायत मुलुकभर एकैसाथ चक्का जाम गरेका हुन् ।


राजधानीको रत्नपार्क,कलंकी,महाराजगञ्ज, सातदोबाटो,कुपन्डोल,लगायत विभिन्न १२ स्थानमा जम्मा भएर बैद्य पक्षीय कार्यतकर्ताले सवारी आवागमन ठप्प परेका हुन् । सडकमा उत्रने कार्यकर्ताको संख्या भने न्यून थियो । उनीहरुले लडाकूको चावी बुझाउने निर्णयलाई धोका र आत्मसमर्पणको संज्ञा दिँदै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् । बैद्य पक्षीय पोलिटव्युरो सदस्य कुलप्रसाद केसीले आफू पक्षीय जनवर्गीय संगठनका कार्यकर्ताको सहभागितामा चाबी बुझाउने संस्थापन पक्षको निर्णय सच्याउन दबाब दिने उद्येस्यले विरोध प्रदर्शन गरिएको अनलाइनखबरलाई जानकारी दिए । निर्णय नसच्चाए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने केसीले चेतावनी दिए ।


साँचो हस्तान्तरण प्रकरणले माओवादीमा ठूलै रडाँको मच्चिने देखिएको छ । कलंकीमा चक्काजामको नेतृत्व गरेका बैद्य पक्षीय केन्द्रीय सल्लाहकार सुरेश आलेमगरले चक्काजामपछि आयोजित कोणसभामा बोल्दै निर्णय फिर्ता नलिए सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने चेतावनी दिए । बैद्य पक्षले राजधानी बाहिरका चितवन, सिन्धुली, पोखरा, रोल्पा, दाङ, नुवाकोटलगायतका जिल्लामा पनि चक्काजाम आयोजान गरेको छ । नुवाकोटमा करिब १० जना र सिन्धुलीमा एक दर्जनजतिको संख्यामा बैद्य पक्षीय कार्यकर्ता सडकमा देखिएका थिए ।


सो समूहले साँझ साढे ६ बजे राजधानीका मुख्यमुख्य चोकहरुमा मशाल जुलुश प्रदर्शन गर्ने जनाएको छ । माओवादी स्थायी समितिको निर्णयअनुसार विशेष समितिले बुधबार कन्टेनरका चाबी समितिअन्तर्गतको प्राविधिक टोलीका सदस्यलाई बुझाउने निर्णय गरेको थियो । इलामको चुलाचुली, चितवनको शक्तिखोर, नवलपरासीको झ्याल्टुनडाँडा लगायतको शिविरका हतियार राखिएका कन्टेनरको चाबी लडाकू कमाण्डरहरुले बिहीबार समिति अनुगमन टोलीलाई बुझाएको थियो ।