काठमाडौ – हतियार-कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने काम पार्टी निर्णय विपरीत नभएको एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी संस्थापन पक्षले स्पष्ट पारेको छ । उपाध्यक्ष मोहन वैद्यले पार्टी निर्णय विपरीत आत्मघाती निर्णय गरिएकोमा आन्दोलन घोषणा गरेपछि संस्थापन पक्षको त्यस्तो प्रतिक्रिया आएको हो ।
अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार एक वक्तव्य सार्वजनिक गर्दै विशेष समितिले गरेको निर्णय पार्टीको निर्णय अनुसार नै भएको दावी गरेका छन् । उक्त निर्णयको बिरोधमा वैद्यले प्रमाशित गरेको प्रेस विज्ञप्ती पार्टी निर्णय विपरीत भएको दाहालद्वारा जारी वक्तव्यमा भनिएको छ । वैद्यद्वारा सार्वजनिक गरिएको वक्तव्यले पार्टी स्तब्ध भएको दाहालले भनेका छन् ।
वैद्यद्वारा प्रकाशित वक्तव्य, पार्टी पद्धति र निर्णय विपरीतका क्रियाकलापबाट उत्तेजित नभई धैर्य एंव दृढता पूर्वक आधिकारिक निर्णयका पक्षमा कायम रहन सम्पूर्ण पार्टी पंक्ति,लडाकु र आम जनसमूदायमा दाहालले आग्रह गरेका छन् ।
विवाद सतहमा आएपछि समाधानका लागि बोलाइएको स्थायी समिति बैठकमा वैद्यपक्ष अनुपस्थित भएपछि बैठकले औपचारिक रुप लिन सकेको थिएन । अनौपचारिक छलफलपछि दाहालले उक्त वक्तव्य सार्वजनिक गरेका हुन् ।
प्रवक्ता दीनानाथ शर्माले स्थायी समितिको औपचारिक बैठक नबसेको बताए । महसाचिव रामबहादुर थापाले एक दिनका लागि बैठक स्थगित गर्न आग्रह गरेपछि बैठकलाई औपचारिक रुप नदिइएको उनले जनाए । अनौपचारिक छलफलबाट वक्तव्य तयारी गरिएको थियो ।



