लडाकूहरुको हतियार कन्टेनरको साँचो बुझाउने निर्णयको विवाद चुलिएपछि माओवादीका उच्च नेताहरु एक अर्का विरोधी वक्तव्यबाजीमा उत्रिएका छन्।
विवादका बीच सातवटै शिविरहरुमा कन्टेनर हस्तान्तरण गर्ने काम भने सकिएको छ।
साँचो बुझाउने निर्णय सम्बन्धी विवादले माओवादीभित्र भुसको आगोझैं सल्किएको भनिएको विवादलाई छताछुल्ल पारिदिएको छ।
डेढ महिना अगाडि ललितपुरको धोबीघाटमा भएको एउटा भेलामा अध्यक्षको विरुद्धमा तिनजनै उपाध्यक्ष र महासचिव समेतले मोर्चाबन्दी कसेपछि प्रचण्ड एकातिर अनि अरु अर्कोतिर देखिएका थिए।
तर विहिबारको निर्णयसंगै उक्त समीकरण गम्भीर संकटमा परेको छ।
प्रधानमन्त्री बनेका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले अध्यक्षको साथ पाएको देखिएको छ भने महासचिव रामबहादुर थापाले वैद्य पक्षधरहरु सरह शुक्रबार बिहानको पार्टि स्थायी समितिको अनौपचारिक भनिएको बैठकमा भाग लिएननन्।
निर्णय नसच्चिए वैद्य पक्षधरहरु सरकारमै सहभागी नहुने मनस्थितिमा पुगेका छन्।
तर त्यस बैठकपछि जारी गरेको विज्ञप्तिमा अध्यक्ष प्रचण्ड उनीहरुसंग आक्रोशित भएको बुझ्न सकिन्थ्यो।



