काठमाडौं – एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्तरिक विवादले अझै दुई दिन सरकार विस्तार नहुने भएको छ ।
लडाकुको हतियार रहेको कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएको विरोधमा उपाध्यक्ष मोहन वैद्य समूहले सरकारमा तत्काल नजाने घोषणा गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईलाई सरकार विस्तार गर्न थप असहज भएको छ ।
शनिबारसम्ममा वैद्य समूहलाई बनाएर आइतबारमात्र सरकार विस्तार हुने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘केही कुरा मिलाउन बाँकी रहेकाले आज (शुक्रबार) पनि मन्त्रिपरिषद् विस्तार नहुने भो,’ आन्तरिक छलफलमा रहेका एक माओवादी नेताले ईकान्तिपुरसित भने ।
उपप्रधानसहित परराष्ट्र, अर्थलगायत केही महत्त्वपूर्ण मन्त्रालय माग गर्दै आएको वैद्य समूह कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएपछि प्रधानमन्त्रीसित थप रुष्ट भएको छ । आफ्नो दलका मन्त्रीहरुको शपथ एकैपटक गराउने भन्दै प्रधानमन्त्रीले वैद्य समूहलाई मनाउने प्रयास गरिरहेका छन् ।



