– रोशन शिल्पकार
भक्तपुर – नेपाली कङ्ग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँडले वर्तमान सरकारको बाधक अन्य राजनीतिक दल नभई प्रधान मन्त्रीको आफ्नै दल भएको बताएका छन्। उनले माओवादी नफुटेसम्म संविधान निर्माण नहुने दाबी पनि गरे।
उनले थपिएको तीन महिनाको समयमा पनि संविधान नबन्ने ठोकुवा गर्दै माओवादी पार्टी नफुटेसम्म संविधान निर्माण नहुने बताए। रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा नेता खाँडले यस्तो बताएका हुन।
माओवादी पार्टीभित्रका प्रमुख गुटहरुको विभिन्न मत र मोहका कारण एकजुट हुन नसक्ने हुँदा यी गुट अलग नभएसम्म संविधान निर्माण नहुने बताए। संविधान निर्माणका लागि सरकार सञ्चालनमा पुगेका दलका नेताहरु नै एक मत नभएको पछिल्लो उदाहरण प्रधान मन्त्रीले कन्टेनरको साँचो बुझाएकोमा प्रधान मन्त्रीकै पार्टीको एक गुटका नेताले त्यसको विरोधमा बन्द तथा हड्ताल गर्नु र सडक सङ्घर्ष गर्ने घोषणा गर्नुले प्रष्ट भएको उनले बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु अहिले संविधान सभा विघटनका लागि लागिपरेका कारण कङ्ग्रेसले लोकतन्त्रको विचार र नीतिलाई नछाडेको उनको भनाई थियो। नेपाली कङ्ग्रेसले माओवादीसँग मिल्न सक्ने जतिको नीति तथा विचारमा मिलेको कुरा गर्दै अहिलेको राजनीतिक अवस्थामा भने कङ्ग्रेस माओवादीको नीति तथा विचारमा सहमत हुन नसक्ने भएकाले माओवादीसँग सहकार्य नगरेको उल्लेख गरे।
यदि माओवादी लोकतान्त्रिक संविधान निर्माणको पक्ष रहने हो भने कङ्ग्रेसले आँखा चिम्लेर माओवादीले भनेको ठाउँका हस्ताक्षर गर्न तयार हुन्थ्यो तर विश्वमा प्रयोगमा नआएको कम्युनिष्ट शासनको सोचमा संविधान निर्माण गर्ने सोच बोकेका कारण कङ्ग्रेसले लोकतान्त्र छाडेर माओवादीसँग सहकार्य गर्न नसकेको बताए।