
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवास ठिमीमा बसेको मोर्चाको बैठकले मन्त्रालय बाँडफाट गरेको हो । फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले ‘अब मन्त्रालयको कुरा मिल्यो,’ बैठकपछि भने, ‘राष्ट्रपतिलाई जानकारी नगराएसम्म बाँडफाट सार्वजनिक गर्न मिल्दैन ।’
उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले माओवादीमा समस्या नआए आइतबार सरकार विस्तार हुने दाबी गरे । उनले पनि कसको भागमा कुन मन्त्रालय पर्यो बताउन चाहेनन् ।
सहमति भएपछि शनिबार प्रधानमन्त्री बाबुराम भट्टराईसँग मोर्चाको बैठक बस्दैछ । ‘प्रधानमन्त्रीसँग कुरा भएपछि सम्भवतः भोलि (आइतबार) हाम्रो शपथ हुन्छ,’ गुप्ताले भने ।
स्रोतका अनुसार गच्छदारको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भागमा उपप्रधानसहित गृह, रक्षा मन्त्रालय परेको छ । फोरम गणतान्त्रिकको भागमा सूचना तथा सञ्चार र कृषि मन्त्रालय परेको छ ।
तमलोपालाई आवास तथा भौतिक योजना, कानुन र विज्ञान तथा प्रविधि, तमलोपा नेपाललाई सिँचाइ, वन र महिला तथा बालबालिका र सदभावना पार्टीलाई स्वास्थ्य मन्त्रालय भागमा परेको छ ।
मोर्चाले अहिले उपप्रधानमन्त्रीको दाबी छाडेको छ । ‘यो जिम्मा प्रधानमन्त्रीलाई नै दिएका छौं,’ गच्छदारले भने । उपप्रधानमन्त्रीमा फोरम गणतान्त्रिक र तमलोपाले दाबी गर्दै आएका थिए ।
उपप्रधानमन्त्री दुई दलले र भौतिक योजना मन्त्रालयमा फोरम लोकतान्त्रिकबाहेक मोर्चाका चारवटै दलले दाबी गरेपछि यसअघि पटक-पटकका बैठक सहमतिमा पुग्न सकेका थिएनन् ।



