
शनिबार चार घन्टा भन्दा बढि लम्बिएको माओवादी स्थायी समिति बैठकमा दुवै पक्षले आ आफ्ना अडानमा चर्काचर्की गरेका थिए।
शिविरमा रहेका लडाकुका हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयको विरोधमा शुक्रबार स्थायी समिति बैठक नै बहिस्कार गरेको बैद्य समुहले शनिबार भने बैठकमा भाग लिएको थियो।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनुभन्दा अगाडि आफुहरुले सार्वजनिक गरेको निर्णय बमोजिम नै साँचो बुझाइएको दोहोर्याएका थिए।
आइतबार हुने बैठकमा कुरा मिल्ने र सरकारमा जाने व्यक्तिहरुको टुंगो पनि लगाइने पुनको आशा छ।
विशेष समितिलाई साँचो बुझाउने निर्णय खारेज हुनुपर्ने माग राख्दै सडकमा उत्रिएको मोहन बैद्य पक्ष पनि आइतबारको बैठकको प्रतिक्षामा छ।
बैद्य पक्षधर मानिने स्थायी समिति सदस्य नेत्रविक्रम चन्द भन्छन्, “आज कहाँ त्रुटी भएको छ कहाँ प्रक्रिया मिलेको छैन भन्ने समष्टीगत रुपमा कुरा राख्यौं भोली निष्कर्ष निस्केला।”
तराइकेन्द्रित दलहरुको मोर्चासँग चारबुँदे सहमति गरेर सरकार बनाएको एक हप्ता पुग्दा पनि माओवादी आन्तरिक किचलोका कारण मन्त्रीपरिषदमा आफ्ना सदस्यहरु पठाउन सकिरहेको छैन।



