वर्तमान सरकार पनि बहुमतका आधारमै बनेकाले शान्ति र संविधान टुङ्गोमा पुग्नेमा आफ्नो पार्टी विश्वस्त नभएको एमाले झलनाथ खनालको भनाई

काठमाडौं  – वर्तमान सरकार पनि बहुमतका आधारमै बनेकाले यो सरकारको नेतृत्वमा शान्ति र संविधान टुङ्गोमा पुग्नेमा आफ्नो पार्टी विश्वस्त नभएको नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री झलनाथ खनालले बताएका छन्।

काठमाडौं २२ नं. वडा कमिटीको पाँचौं अधिवेशनको शनिबार टेबहालमा उद्‍घाटन गर्दै अध्यक्ष खनालले शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउन सरकार लागिपरेमा एमालेले सहयोगी भूमिका निर्वाह गर्ने पनि उल्लेख गरे।


आफ्नो नेतृत्वको सरकारले शान्ति प्रक्रियालाई अघि बढाउने क्रममा केही प्रगति गरेको, तर एमाओवादी र नेपाली कांग्रेसले प्रधानमन्त्री पदलाई महत्व दिएकाले निष्कर्ष निकाल्न नसकिएको खनालको भनाइ थियो।


शान्ति प्रक्रिया पूरा गर्न सेना समायोजनको ढाँचा, सङ्ख्या, मापदण्ड, दर्जा र पुनर्स्थापनाको प्याकेजमा सहमति हुन आवश्यक भएको भन्दै खनालले दलहरुले चाहेमा एक हप्तामा यी सबै विषयको टुङ्गो लगाउने स्थितिमा आफूले ल्याई पुर्‍याएको उल्लेख गरे।


उनले राष्ट्रिय सहमतिको वातावरण बनाउन, शान्ति र संविधानलाई पूर्णता दिन तथा मुलुकलाई अग्रगतिमा लैजान आफूले राजीनामा दिए पनि राष्ट्रिय सहमति हुन नसकेकामा दुःख व्यक्त गरे।


संविधान सभाबाट संविधान जारी गर्न नदिएर यसलाई विघटन गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै उनले कार्यभार पूरा नगरी संविधानसभा विघटन भएमा मुलुकको एकता पनि खण्डित हुने दाबी गरे।


अध्यक्ष खनालले संविधान जारी गर्न हाल थप गरिएको तीन महिनाको समय पनि अपुग हुने भएकाले पुनः तीन महिना थप्नुपर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्नुपर्नेमा जोड दिए।
– रासस