प्रधानमन्त्री डा. बाबुराम भट्टाईद्धारा मन्त्रिपरिषद् विस्तार

काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टाईले आइतवार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आफु प्रधानमन्त्री बनेको आठ दिनपछि भट्टराईले पहिलो पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । आफ्नै पार्टी माओवादीका ६ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध पाँच दलका ११ जनालाई समेटेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

मन्त्री बनाइएका १७ जनालाई आजै सपथ दिलाइएको छ । अघि साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री डा. भट्टराईले नवनियुक्त मन्त्रीहरुलाई सपथ दिलाउनुभएको हो । प्रधानमन्त्री डा. भट्टराईले शुरुमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई सपथ दिलाउनुभएको थियो ।

त्यसपछि मन्त्रीहरु पोष्टबहादुर बोगटी, वर्षमान पुन, हृदयेश त्रिपाठी, शरदसिंह भण्डारी, जेपी गुप्ता, राजेन्द्र महतो, महेन्द्र यादव, टोपबहादुर रायमाझी, प्रभु साह, नन्दनकुमार दत्त, राजलाल यादव, जितेन्द्र सोनार, वकिल मुसलमान, दानबहादुर चौधरी, कमला रोका, निलम वर्मालाई सपथ दिलाइएको थियो ।

सपथ लिने माओवादी मन्त्रीहरु वर्षमान पुनले अर्थ, पोष्टबहादुर बोगटीले उर्जा, टोपबहादुर रायमाझीले स्थानीय विकास, प्रभु साहले भूमिसुधार र कमला रोकाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शरदसिंह भण्डारीले रक्षा, निलम वर्माले बातावरण र वकिल मुसलमानले महिला बालबालिका मन्त्रालय पाउनुभएको छ । फोरम गणतान्त्रिकका जेपी गुप्ताले सञ्चार, नन्दनकुमार दत्तले कृषि र राजलाल यादवले विना विभागीय मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । तमलोपाका हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण, जितेन्द्र सोनार कानुन एवं तमलोपा नेपालका महेन्द्र यादव सिंचाई र दानबहादुर चौधरी वनमन्त्री बन्नुभएको छ भने सद्भावनाका राजेन्द्र महतो स्वास्थ्य मन्त्री हुनुभएको छ ।