
आइतबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पनि विवाद मिलाउन नसकेपछि आगामी असोज १ गतेदेखि केन्द्रीय समिति बैठक बोलाइएको हो । शनिबार साँझ बसेको स्थायी समिति बैठकमा पनि संस्थापन पक्ष र उपाध्यक्ष मोहन वैद्य समूहबीच चर्काचर्की भएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
केन्द्रीय समितिको निर्णय नआएसम्म साँचो विवादमा बाहिर टिका टिप्पणी नगर्ने निर्णय भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । साँचो बुझाउने निर्णय फिर्ता गर्नुपर्ने वैद्य समूहको मागप्रति प्रधानमन्त्री बाबुराम भट्टराईसहित संस्थापन समूहले आपत्ति जनाएपछि बैठक निर्णयमा पुग्न नसकेको हो ।
यसअघि साँचो विवाद मिलाउन शुक्रबार बिहान बोलाइएको बैठक वैद्य पक्षधर नआएपछि स्थगित गरिएको थियो ।
कन्टेनरको साँचो बुझाउने निर्णयको विरोधमा वैद्य पक्षधर सडक आन्दोलनमा नै उत्रिएको थियो । उसले शुक्रबार बिहान देशभर एक घण्टा सडक जाम गर्यो भने साँझ मसाल जुलुस निकाल्यो ।
प्रधानमन्त्री अध्यक्ष रहेको सेना समायोजन विशेष समितिको बैठकमा माओवादीले सहमति जनाएपछि बिहीबार र शुक्रबार गरेर सात वटै लडाकु शिविरको साँचो बुझाइएको हो ।
साँचो बुझाउनु ‘आत्मसमर्पण र जनसेना विघटन’ गर्नुसरह भएको भन्दै वैद्यले विज्ञप्ती जारी गरेका थिए । जवाफमा अध्यक्ष दाहालले पनि बक्तब्य जारी गर्दै वैद्यको क्रियाकलाप पार्टी पद्धतिविपरीत भएको भन्दै आलोचना गरेका थिए ।



