जारी शान्तिप्रक्रिया गम्भीर मोडमा पुगेको भन्दै त्यसलाई सफलतामा पुर्‍याउन सबैले जिम्मवारीपूर्वक कदम उठाउनु पर्ने माओवादी दाहालको भनाइ

काठमाडौ – एकीकृत नेपाल कम्युनिष्ट पार्टी  माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी शान्तिप्रक्रिया गम्भीर मोडमा पुगेको भन्दै त्यसलाई सफलतामा पुर्‍याउन सबैले जिम्मवारीपूर्वक कदम उठाउनु पर्ने बताएका छन् ।

 

दाहालले शान्ति र संविधानका लागि आगामी तीन महिना सबै दलका लागि अग्निपरीक्षामा भएको बताए। उनले आफ्नो सम्पूर्ण ताकत शान्ति र संविधानको पूर्णताका लागि लगाउने बताए ।

राजधानीमा सोमबार एबीसी टेलिभिजनको वाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा दाहालले तीन महिनाभित्र शान्ति र संविधानल निर्माण प्रक्रिया पूरा गर्न आफू प्रतिवद्ध भएर लाग्ने बताए । संविधानसभाको ठूलो पार्टीको अध्यक्षको नाताले आफू जनताको अपेक्षा र राष्ट्रको आवश्कयता अनुसार मुल मुद्दामा केन्द्रीत रहने जनाए ।

उनले अहिलेको समय एकले अर्कालाई मद्धत गर्ने बेला रहेकाले सबै राजनीतिक आरोप प्रत्यारोप बन्द गरिनुपर्ने बताए । उनले शान्ति प्रक्रिया जटिल अवस्थामा पुगेकाले एक अर्कालाई असहयोग गरे डरलाग्दो अवस्था सृजना हुने उल्लेख गरे । सबै दोष नेताहरुलाई थुपार्ने चलन बसेकोमा उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले आफ्नो पार्टी भित्र देखिएको विवाद तर्फ इंगित गर्दै उनले त्यसले शान्ति र संविधानलाई असर नगर्ने बताए । जस्तो सुकै अवरोध आएपनि आफू शान्ति प्रक्रियालाई अगाडि बढाउन कटिवद्ध रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।