नेपाली कांग्रेसद्धारा शिविरमा रहेका लडाकुको हतियार राखिएको कन्टेनरको साँचो बुझाउने माओवादी कदमलाई सकरात्मक भन्दै स्वागत

काठमाडौ  – शिविरमा रहेका लडाकुको हतियार राखिएको कन्टेनरको साँचो बुझाउने माओवादी कदमलाई सकरात्मक भन्दै नेपाली कांग्रेसले स्वागत गरेको छ ।

वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा गठित कांग्रेसको शान्ति समितिको सोमबार बसेको बैठकले शान्ति प्रक्रिया टुंगाउन बाँकी कार्यहरु यथासिघ्र अघि बढाउन माओवादीलाई आग्रह गरेको छ । यद्यपी महत्वपूर्ण विषयहरु थाँती रहेकाले अहिले धेरै आशा गर्न नसकिने समितिको ठहर छ ।

लडाकुको समायोजन र पुनःस्थापना अघि सम्पन्न हुनुपर्ने मापदण्ड, दर्जा निर्धारण, संख्या लगायतका मुद्दामा सहमति जुटाउन समितिले जोड दिएको  नेता रामशरण महतले जानकारी दिए ।

शान्ति र संविधानका लागि  यसअघि पार्टीले तय गरेको धारणालाई समय सापेक्ष ढंगबाट  परिमार्जन गर्नुपने आवश्य रहेको भन्दै त्यसलाई केन्द्रीय समितिले छलफल गर्न निर्देशन दिएपछि समितिको बैठक बसेको हो ।

बुडानिलकण्ठ स्थित देउवा निवासमा भएको छलफलमा कांग्रेसले लडाकुलाई हतियारबाट अलग गर्नुपर्ने शान्ति सम्झौतामा रहेका बुँदाहरुको अक्षरश पालना लगायतमा जोड दिएको छ ।

माओवादीद्वारा द्वन्द्वकालमा कब्जा, नजि तथा सार्वजनिक सम्पती फिर्तालाई शान्ति प्रक्रियाको अंग मान्नुपर्ने कांग्रेसको जिकिर रहेको छ ।