
बन्दका क्रममा प्रहरीले हस्तक्षेप गरी युवा संघ नेपालका बाँके अध्यक्ष डम्बर थापा, अनेरास्ववियु अध्यक्ष सूर्य रोकाय, नेता खगेन्द्र खनाल, मोहित शाह, निजामुद्धिन इदि्रसी र पन्चकुमार जोशीलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक ऋषि ढुंगानाको कमाण्डमा रहेको प्रहरी टोलीले बल प्रयोग गर्ने क्रममा शाह र जोशी घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ । ‘प्रहरी नियोजित ढंगले नै दमनमा उत्रियो’- अनेरास्ववियुका अध्यक्ष रोकायले भने,- हत्यारा पत्ता लगाउनेभन्दा आन्दोलन रोक्न खोजेकाले आन्दोलन जारी रहन्छ ।
प्रहरी दमनको बिरुद्ध अनेरास्ववियुले बुधवार मध्य तथा सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । जोशीको ढाडमा र शाहको काँधमा चोट लागेको छ । बन्दकर्ताहरुले जिल्ला शिक्षा कार्यालयको गाडी र केही मोटरसाइकलहरु तोडफोड गरेका छन् ।
उद्योग व्यापार संघ, यातायात व्यवसायी, प्याब्सन, एन प्याब्सन, शिक्षक युनियन, नेपाल शिक्षक संघ, राष्ट्रिय शिक्षक संगठनको पनि ऐक्यबद्धता रहेकाले दिउँसोसम्म बन्द शान्तिपूर्ण रह्यो । तर, छिटफुट सरकारी गाडी र मोटरसाइकल चल्न थालेपछि बन्दकर्ताहरु तोडफोडमा उत्रेका हुन् ।
बन्दले नेपालगन्ज, कोहलपुर, खजुरा, गुलरिया, भूरीगाउँ, बाँसगढी, लमही, घोराही र तुल्सीपुर बजार पूर्णरुपमा ठप्प रहेका कान्तिपुर संवाददाताहरुले जनाएका छन् । ती बजारहरु पूर्ण रुपमा बन्द रहे भने कलकारखाना र लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि चलेका छैनन । सडकमा एम्बुलेन्स, अस्पताल, प्रहरी र पत्रकारका साधन मात्र गुड्न दिइएको थियो ।



