
गृहमन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले तत्काल, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा राहत तथा सुधार कार्यक्रम घोषणा गरेका हुन् ।
तत्कालित राहत कार्यक्रममा अपहरण, फिरौति, बलात्कार नियन्त्रण गर्ने, गुण्डागर्दी नियन्त्रण गर्ने, तराई तथा पूर्वी पहाडी जिल्लामा सशस्त्र समूहका गतिविधि नियन्त्रणलगायत छन् ।
यसैगरी रामार्ग सुरक्षा, कृतिम मूल्यबृद्धि नियन्त्रण तथा सुधार, उपत्यकाको सवारी आवागमन सुधार तथा औद्योगिक सुधारलाई पनि तत्कालित राहत कार्यक्रममा समेटिएको छ ।
यसैगरी मध्यकालिन राहत तथा सुधार कार्यक्रममा भने राहदानी वितरण सवै जिल्ला प्रशासनबाट गर्ने योजना गृहमनत्रालयले बनाएको छ । यस्तै सुरक्षाकर्मीलाई घरेलु कामदारकोरुपमा प्रयोग अन्त्य, चेलिबेटी बेचविखन नियन्त्रण, नमूना जिल्ला प्रशासन घोषणा मध्यकालिन राहत तथा सुधार कार्यक्रममा समेटिको छ ।
दीर्घकालीन सुधार तथा राहतमा प्रहरी सेवा आयोग गठन, गुण्डागर्दी नियन्त्रण ऐन निर्माणलगायत छन् । ‘यी राहत तथा सुधार कार्यक्रमले जनतालाई सुरक्षा अनुभूति पाउनेछने,’ गृहमन्त्री गच्छदारको दाबी थियो, ‘यसैगरी सर्वसाधारणले राहत पनि पाउने सरकारको विश्वास छ ।’
प्रमाण पाए तुरुन्तै कारबाही
उपप्रधान एवं गृहमन्त्री गच्छदारले गृहमन्त्रालयबाट हुने भ्रष्टाटारलाई शुन्यमा झार्ने प्रतिबद्धता दोहोर्याए ।
मन्त्रालयबाट दिने राहत तथा सुधार कार्यक्रम घोषणापछि भएको पत्रकारसँग भएको प्रश्नोत्तरमा गच्छदारले भने, ‘गृहमन्त्रालय अन्तर्गत भएका भ्रष्टाचारको प्रमाण पाउनसाथ अविलम्ब कारबाही गर्ने परिपाटी बनाइनेछ,’ उनले भने, ‘भ्रष्टाचार थियो र अहिले पनि छ भने नियन्त्रण गरिनेछ र शुन्यमा झारिनेछ ।’
गृहमन्त्री गच्छदारले प्रहरीको सरुवा बढुवामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए । लामो समयदेखि हुन नसकेको इन्स्पेक्टर, डिएसपी र एसपीको सरुवा निश्चित मापदण्ड बनाएर गरिने बताए । ‘सरुवा गर्ने आईजीपी साप्हरुले गर्नुहुनेछ,’ उनले भने, ‘म हस्तक्षेप गर्दिन ।’
उनले अहिलेसम्म कुनै प्रहरी जवान लामो समयसम्म सरुवा नभइ बसेको भए त्यस्तालाई पनि न्याय दिइने बताए ।



