भारतको नयाँदिल्लीस्थित उच्च न्यायालय अगाडि दुर्इ दिनअघि भएको बम विष्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले भारत प्रशासित कश्मिरबाट एक साइबर क्याफेका मालिकसहित पाँच जनालाई पक्राउ गरेको छ । काश्मिरको किश्तवाडबाट साइबर क्याफेका मालिक ख्वाजा महमूद अजीज र उनका भाई ख्वाजा खालिद, साईबर क्याफेका व्यवस्थापक अश्विनी कुमार र स्थानीय कलेका दुई छात्रलाई हिरासतमा लिइएको छ ।
विष्फोटपछि भारतीय सुरक्षा एजेन्सीमा आएको ईमेल यसै साइबरबाट आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साईबर क्याफे सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानून अनुसार क्याफेमा आउनेहरुको फोटोसहितको जानकारी नराखेको कारण पक्राउ गरिएको हो । विष्फोट भएकै दिन गत बुधबार सुरक्षा एजेन्सीलाई हरकत उल जेहाद उल इस्लामी समूहको नाममा विष्फोटको जिम्मेवारी लिएको इमेल प्राप्त भएको थियो ।
उक्त घटनामा १२ जनाको मृत्यु हुनुका साथै ७५ जना घाइते भएका थिए । यसैबीच भारत प्रशासित काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनाको सम्बन्धमा राज्य प्रशासनलाई केही सूचनाहरु प्राप्त भएको र ती सूचना राष्ट्रिय सुरक्षा एजेन्सीलाई दिइएको जानकारी दिनुभएको छ ।