माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बलिदान र त्यागमा डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्न संभव भएको भन्दै सरकारलाई सफल बनाएरै छाड्ने वताएका छन । पार्टी भित्रको कठिन अन्तर संघर्षलाई पार लगाउदै अघि बढ्ने उल्लेख गर्दै प्रचण्डले माओवादी, एमाले र कांग्रेस जस्तो सजिलै फुट्ने पार्टी होइन भने । युद्धकालमा मारिएका माओवादी केन्द्रीय सदस्य सुरेश वाग्लेको स्मृतिमा आज गोरखा सदरमुकाममा भएको सभालाई संवोधन गर्दै प्रचण्डले पार्टी फुटाउने चेष्टा गर्नेलाई चिहानबाट हजारौं शहीद व्युझेर खरानी पार्ने चेतावनी दिए ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन महिना भित्र शान्ति प्रक्रिया र संविधान लेखनलाई टुंगोमा पुर्याउने प्रतिवद्धता दोहोर्याए । प्रधानमन्त्री भट्टराइले जनयुद्धबाट खारिएको माओवादी र मधेश आन्दोलनबाट खारिएको मधेशी मोर्चाको गठबन्धन दिगो हुने दाबी गर्नुभयो । सरकारले शान्ति र संविधान तथा जनतालाई राहत मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले आफु जनभावना अनुसार चल्ने वताए ।
कार्यक्रममा माओवादी उपाध्यक्ष मोहन वैद्यले जनयुद्धको भावना अनुसार पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सम्मानजनक ढंगले सेना समायोजन गर्न प्रतिवद्ध रहेको वताए । कार्यक्रमलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री भट्टराइले कर्मचारीलाई शान्ति र संविधानलाई निश्कर्षमा पुर्याउनका लागि सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिएका थिए ।



