काठमाडौ – नेकपा एमाले सल्लाहकार परिषद् सचिवालयको विस्तारित बैठकले शान्तिप्रक्रियालाई टुङ्गो लगाउँदै संविधान लेखनलाई पूर्णता दिने काममा प्रतिपक्षमै रहेर पनि रचनात्मक भूमिका खेल्न पार्टीलाई सुझाव दिएको छ ।
भदौ २६ गते बस्ने एमालेको एघारौँ केन्द्रीय कमिटीको बैठकलाई ध्यानमा राखेर बसेको बैठकले पार्टीका अनुशासनहीनता र गुटबन्दी रोक्न प्रभावकारी कदम चाल्न पनि सुझाव दिएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष झलनाथ खनालले परिषद्को सल्लाहलाई सकेसम्म कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेस र माओवादीसँग भएका शान्ति, संविधान र राष्ट्रिय सहमतिसम्बन्धी वार्ताको प्रगतिबारे जानकारी गराए ।
अध्यक्ष खनालले शान्तिप्रक्रियालाई जोड दिँदै राष्ट्रिय सहमतिका आधारमा संविधान निर्माण गर्ने विषयलाई नै पार्टीले प्राथमिकतामा राखेको बताउनुभएको परिषद्का सचिव गोपाल शाक्यले जानकारी दिए ।
सरकारमा सहभागिता नभएको विषयमा समीक्षा गर्न, पार्टीले गुण्डागर्दीलाई संरक्षण गर्न र विचारधारात्मक कामलाई प्राथमिकता दिन पनि सुझाव दिने भएको छ । त्यसैगरी, गुटबन्दीमा लागेका नेताहरूले आफ्नो प्रवृत्तिमा सुधार नगरे सल्लाहकार परिषद्ले नेताहरूलाई राखेर अन्तरक्रिया कार्यक्रम गर्ने पनि तय भएको सचिव शाक्यले बताए ।
– रासस