काठमाडौं – केही दिनमा संविधान निर्माणका बिषयमा ‘ब्रेक थ्रु’ हुने प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । प्रधानमन्त्री भट्टराईले शुक्रबार तत्काल राहत कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
‘संविधान लेखनको ढोका बन्द भएको छैन, खुला नै छ । बिवाद समाधान उपसमिति बैठक नियमित बसिरहेको छ’ उनले भने- ‘एकाध दिनमा महत्वपूर्ण ‘ब्रेक थ्रु’ हुनेछ ।’
उनले सरकारको काम शान्ति र संविधान भएको उल्लेख गर्दै तत्काल राहतको कार्यक्रम ल्याएर सहभागिता जुटाउने बताए । ‘हाम्रो पहिलो प्रयत्न शान्ति र संविधान निर्माणनै हो । शान्ति प्रक्रियाको पहल गरिसकेका छौ’ उनले भने- ‘संविधान निर्माणको काममा पनि हामीले पहल गरिरहेका छौ र छिट्टै उत्साहजनक परिणाम दिनेवाला छ । त्यसमा आम जनताको सहभागिता जुटाउन राहत कार्यक्रम ल्याएका हौ ।’
उनले कर्मचारीतन्त्रलाई हतियारको संज्ञा दिंदै त्यसको सही प्रयोग गरी सरकारका कार्यक्रम लागु गरिने बताए ।
‘कर्मचारीतन्त्रलाई दोष दिने पक्षमा छैनौं । कर्मचारीतन्त्र सक्षम छ । कर्मचारीतन्त्र एउटा हतियार हो’ उनले भने- ‘राम्रो काम गर्न जाने राम्रो परिणाम निकाल्छ, नजान्नेले आफ्नै हात काट्छ । हाम्रो कार्यक्रमको पूरा कार्यान्वयन हुन्छ र सफल हुन्छ भन्ने बिश्वास छ ।’
प्रधानमन्त्री भट्टराईले राजनीतिक आवरणमा गुण्डागर्दी गर्नेलाई कार्बाही गरिने बताए । ‘राजनीतिक आवरणमा गुण्डागर्दी गर्नेलाई कडा कारबाही गरिने छ, तपाईले व्यबहारबाट देख्नुहुनेछ’ उनको भनाइ थियो- ‘बिगतमा गलत पृष्ठभूमि भएका व्यक्ति पनि सच्चिन सक्छन् । रत्नाकर वाल्मिकी भएका थिए । त्यसकारण हामीले कसैको पृष्ठभूमि बेठीक रहेछ भनेपनि सच्याएर लानुपर्छ । जो सच्चिन चाहदैनन् कडा कारवाही हुन्छ ।’
उनले बिगतमा माओवादीले कब्जा गरेको जग्गा फिर्ता गर्ने पनि जनाए । ‘युद्धको बेला कब्जा गरेका सम्पत्ति फिर्ता गर्छौ’ उनको भनाइ थियो ।



