काठमाडौं – आफ्नो कार्यकालमा एउटा रूख पनि काट्न नदिने वनमन्त्री मोहम्मद वकिल मुसलमानले प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री मुसलमानले वाग्मती सभ्यता र लायन्स क्लबद्वारा आयोजित वाग्मती नदी किनारमा वृक्षरोपण कार्यक्रममा रूख काटिएको प्रमाण भेटिए तत्काल राजीनामा दिने दाबी गरे ।
‘मैले वन विभाग, जिल्ला वन कार्यालय प्रमुखहरूलाई वन फँडानी तथा काठ तस्करी रोक्न निर्देशन दिएको छु, त्यस्तो पाएमा तत्काल कारबाही गरिनेछ,’ उनले भने । वाग्मती सभ्यता एकीकृत विकासका अध्यक्ष महेशबहादुर बस्नेतले गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रलाई ‘वातारणमैत्री सहर’ बनाइने बताए । पशुपतिदेखि गोकर्णसम्मको ८० प्रतिशत वाग्मती ढलरहित भइसकेको दाबी उनले गरे । ‘तीन महिनाभित्र ढलरहित वाग्मती बनाउँछौं,’ उनले भने ।
अन्तर्राष्ट्रिय लायन्स क्लबका भरत ढुंगेलले विश्वमा पर्यावरणीय समस्या बढ्दै गएकाले वृक्षरोपण अपरिहार्य भएको बताए । वाग्मती किनारमा तीन हजार विभिन्न जातका बिरुवा रोपिएको थियो । आयोजनाले आठ हजार बिरुवा रोप्ने लक्ष्य राखेको छ ।



