व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०६८/०६९को विनियोजन विधेयकमाथि छलफल सुरु

काठमाडौ – व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०६८/०६९को विनियोजन विधेयकमाथि सोमबारबाट छलफल सुरु भएको छ । उक्त विधेयकमाथि छलफल गर्ने भनिएपनि पटक-पटक समय सर्दै आएको थियो ।

अर्थमन्त्री वर्षमान पुनले विगतको सरकारले ल्याएको बजेट नै पारित हुने बताएपछि संसदमा उक्त विषयले प्रवेश पाएको छ । आजको संसद बैठकमा वन,युवा,कृषि,भूमिसुधार,महिला र सिंचाई मन्त्रालयका लागि विनियोजित विधेयक माथि छलपल हुने तय गरिएको छ । 

संसदको कार्यसूचीमा आर्थिक वर्ष ०६८/०६९ को विनियोजन विधेयकमाथिको छलफल तोकिएको थियो । तर निर्धारित समयमा मन्त्री पुन संसदमा नआएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । मन्त्री पुन आएपछि बैठक संचालन भएको छ । शुन्य समयपछि सभामुख सुवास नेम्वाङले छलफलका लागि विधेयक पेस गर्न अर्थमन्त्री  पुनलाई बोलाएका थिए । तर पुन संसदमा उपस्थित थिएनन् । ढिलो गरी संसदमा पुगेका अर्थमन्त्री पुनले पूर्व निर्धारित एक कार्यक्रममा व्यस्त रहनुपरेका कारण ढिला भएकोमा संसद समक्ष क्षमा माग्दै विनियोजन विधेयकमा छलफलका लागि आग्रह गरेका थिए ।