नयां संविधानको एकीकृत मस्यौदा तयार पार्ने मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिको आज सिंहदरबारमा बसेको बैठक पनि निष्कर्षविहिन बन्यो । बैठकमा विवाद समाधान उपसमितिले गरेका कामको प्रगति समीक्षा र संविधान निर्माण क्रममा देखिएका जटिलता हटाउने विषयमा छलफल भएको थियो । पछिल्लोपटक संविधानसभाको म्याद तीन महिना थपिएपछि समितिको बैठक पहिलोचोटि बसेको हो ।
संधिवानसभाको पछिल्लोपटक थपिएको अवधि सकिन साढे दुई महिना बाँकी छँदा दलहरुबीच भावी संविधानको शासकीय स्वरुप र निर्वाचन प्रणाली तथा राज्य पुर्नसंरचना गरी कूल ४८ विषयमा अझै विवाद छ ।
कांग्रेसले शान्ति प्रक्रिया टुंगोमा पु-याएपछि मात्र संविधान लेखन थाल्नुपर्ने अडान लिएको छ भने माओबादीले शान्ति प्रक्रिया र संविधान लेखन दुबै एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । पछिल्लोपटक राज्य पुर्नसंचरना आयोगको सट्टा विज्ञ समूह गठन गर्ने बारेमा दलहरु सहमतिको नजिक पुगे पनि संविधान लेखनको कामले गति लिन सकेको छैन ।



