काठमाडौ – प्राप्त समाचार अनुसार शान्ति प्रक्रिया अगाडि बढाउनका लागि माओवादी कब्जामा रहेको घरजग्गा फिर्ता गराउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टी र राज्यको निकायलाई निर्देशन दिइसकेको उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
साथै सल्लाहकार पौडेलले सिंहदरवारमा पत्रकार सम्मेलन मार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री गम्भीरताका साथ पहल गरिरहेको बताए । कांग्रेस र एमालेले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कब्जा गरिएका घरजग्गा फिर्ताको आवाज उठाउँदै आएका छन् ।
यसैगरी भारतमा त्यहाँको अदालतले नेपाली माओवादी नेताहरुलाई सुनाएको सजाय माफीका वा मुद्दा फिर्ताका लागि प्रधानमन्त्रीले राजनीतिक र कुटनीतिक पहल थालिसकेको पौडेलले बताए । प्रधानमन्त्रील मंगलबार भारतीय राजदूत जयन्तप्रसादलाई भेटेर उक्त विषयको समाधानका लागि आग्रह गरेका छन् ।
यसका साथै उपकुलपतिको नियुक्तिपछि लामो समयदेखि तालाबन्दी रहेको मुलुकका सबै विश्वविद्यालयहरुको समस्या प्रधानमन्त्रीको पहलमा समाधान भएको पौडेलले जानकारी दिएका छन् । माओवादी,कांग्रेस र एमालेका प्रध्यापक संघहरुबीच प्रधानमन्त्रीको पहलमा सहमति भएपछि मंगलबार बाट संस्कृत बाहेक सबै ६ विश्वविद्यालयको ताला खुल्ने भएको छ ।



