एमालेद्धारा सरकार गठनका बेला माओवादी र मधेषी मोर्चाबीच भएको चार बुंदे सहमति तत्काल खारेज गर्न माग

काठमाडौ । नेकपा एमालेले सरकार गठनका बेला एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेषी मोर्चाबीच भएको चार बुंदे सहमति तत्काल खारेज गर्न माग गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटिको बैठकमा सहमति राष्ट्रिय अखण्डता बिरोधी भएको भन्दै खारेज गर्न माग गरेको हो । सचिवालयको तर्फबाट तयार पारिएको ६ पृष्ठ लामो राजनीतिक प्रस्तावमा  सहमतिमा द्वन्द्वकालमा मानवअधिकार हननका घटनामा लागेका मुद्दा फिर्ता लिने, सेनामा समूहगत प्रवेश गराउने, राज्यपुर्नसंरचना आयोग गठन नगर्ने भनि भएको सहमतिलगायतका बुंदा राष्ट्रिय हित विपरित भएको भन्दै खारेजको माग गरेको हो ।


एमालेले माओवादीले घोषणा गरेअनुसार ४५ दिनभित्र शान्ति प्रक्रियाका काम सम्पन्न हुनेमा आशंका उत्पन्न भएको भनेको छ । त्यस्तै, एमालेले सातवटै विश्वविद्यालयका उपकुलपतिलाई राजीनामा दिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले दिएको दबाबप्रति आपत्ति प्रकट गरेको छ । एकिकृत नेकपा माओवादीसहितको सरकारले विधिवत्रुपमा उपकुलपति नियुक्त गरेको भन्दै प्रधानमन्त्री भट्टराईले विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गरेको ठहर गरेको छ ।


एमालेको जारी बैठकका वर्तमान राजनीतिक परिस्थिती, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, शान्ति र संविधान तथा राज्य पुर्नसंरचना आयोग गठन लगायतका ९ बुंदे एजेन्डाहरुमा छलफल हुने बताइएको छ ।