प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा ६ मन्त्री थपेर तेस्रोपटक मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्रीले एकीकृत माओवादीका तर्फबाट दुई जना र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट चार जना गरि जम्मा छ जनालाई मन्त्रिमण्डलमा समावेस गरेका छन्।


नवनियुक्त मन्त्रिहरुलाई प्रधानमन्त्रीले बिहिबारै पद तथा गोपनियताको सपथ दिलाएका थिए।


यो विस्तार संगै भट्टराई नेतृत्वको मन्त्रिमण्डल २१ सदस्सीय भएको छ।


पार्टीभित्र संस्थापन पक्षले तराई केन्द्रित दलहरुको मोर्चा संग गरेको चार बुँदे सहमति र माओवादि हतियारको कन्टेनरहरुको साँचो विशेष समितिलाई बुझाएको प्रति असन्तुष्टी देखाइरहेको मोहन वैद्य किरण समुह बिहिबार पनि मन्त्रिमण्डलमा सहभागी भएन।


तर प्रधानमन्त्री भट्टराईले माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड खेमाका मानिने लेखराज भट्टलाई बाणिज्य तथा आप‍ूर्ती र गोपाल किराँतीलाई संघीय मामिला संविधान सभा र संस्कृती मन्त्रालयको कार्यभार सुम्पदै मन्त्रिमण्डल विस्तार गरेका छन्।


त्यस्तै संयुक्त लोकतान्त्रिम मधेसी मोर्चाका तर्फबाट फोरम लोकतान्त्रिकका शरतसिंह भण्डारीले रक्षा, हेमराज तातेडले वातावरण मन्त्रालय पाएका छन्।


मोर्चामै आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका ब्रजेशकुमार गुप्ताले कान‍ून र संघिय सदभावना पार्टीका अनिलकुमार झाले उद्योग मन्त्रालयको सपथ लिएका छन्।

 

झण्डै तीन साता अघि प्रधानमन्त्री चुनिएका भट्टराईले सानो आकारको मन्त्रिमण्डल बनाउने बताएका थिए।

तर उनका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलका अनुसार गठबन्धनमा आवद्ध साना दलहरुलाई समेत समावेस गर्दा मन्त्रिमण्डल थोरै ठ‍ूलो आकारको बन्न पनि सक्छ।