प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा शान्ति र संविधान निर्माण प्रक्रियामा अपेक्षित प्रगति हुन नसकेकामा चिन्ता व्यक्त


 

काठमाडौ  –  प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रियामा अपेक्षित प्रगति हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

 

टेलिभिजन सम्पादकहरुको संस्था टेलिभिजन एडिटर्स गिल्डका पदाधिकारीसँग बिहीबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले यी दुई विषय नै आफ्नो प्रमुख प्राथमिकता रहेको तर विपक्षीबाट नयाँ नयाँ तर्क झिकी त्यसैमा बाधा सिर्जना गरिएको भन्दै असन्तोष प्रकट गरे ।

 

‘शान्ति र संविधान निर्माणमा तीन महिना भित्र ठोस प्रगति नभए पद छाड्छु,  सफल भए पनि आफैँ पदमा बसिरहनुपर्ने आवश्यकता हुन्न,’ उनले भने । शान्ति र संविधान निर्माण प्रक्रिया संगसँगै अगाडि बढाउनुपर्ने उनको विचार थियो ।

 

भेटमा गिल्डका संयोजक महेन्द्र विष्ट तथा सदस्य राजेन्द्रदेव आचार्य, कपिल काफ्ले, शुभशङ्कर कँडेल, चिरञ्जीवी देवकोटा, कुलचन्द्र भट्टराई, सङ्केत कोइरालालगायतले सूचनाको सहज पहुँच, प्रेस स्वतन्त्रताको निर्बाध उपभोग, पत्रकार तथा सञ्चारसंस्थाको सुरक्षा लगायत प्रसारण पत्रकारिताले भोगिरहेका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

प्रधानमन्त्रीले ती विषयप्रति सरकारको गम्भीर सरोकार रहने बताउँदै सरकारका काम कारवाहीलाई पारदर्शी बनाउन आफूले सधैँ जोड दिने बताएको गिल्डले जनाएको छ ।

 

रासस