देशैभर बजार अनुगमन खाद्यान्नदेखि औषधी सम्ममा ठगी

वाणिज्य विभागले बजार अनुगमनलाई तीब्र पारेपछि बजारमा मिसावटयुक्त खाद्यान्न, गुणस्तरहिन खाद्य तथा पेय पदार्थ बिक्री भईरहेको र ब्यापारीले खुलेआम उपभोक्तालाई ठगी गरेको उदाङ्गो हुंदै गएको छ ।


यसै क्रममा विभागका कर्मचारीले आज काठमाडौ, गौशालाको अन्नपूर्ण मिष्ठान्न भण्डारमा छापा मार्दा गुणस्तरहीन मिठाई उत्पादन भईरहेको पुष्टी भएको थियो । यस मिठाई भण्डारको उत्पादनमा सिलबन्दी गरी मिठाई विक्रीमा रोक लगाउनुका साथै अखाद्य मिठाई नष्ट गरिएको छ । झिङ्गा, साङ्ला, कमिला भन्किएको मिठाइ बेचिरहेको र सडेको खुवाबाट मिठाई उत्पादन गरेको पाइएको थियो ।
 
यस्तै राजधानीका महङ्गा अस्पतालका क्यान्टिन समेत अत्यन्त अव्यवस्थित र फोहोर रहेको तथ्य पनि सार्वजनिक भएको छ । काठमाण्डौं, चाबहिलको ओम अस्पताल र मेडिकेयर अस्पतालमा अनुगमन गर्दा यी अस्पताका क्यान्टिनहरु फोहोर पाईको विभागले जनाएको छ ।


ओम अस्पतालको क्यान्टिनमा म्याद नाघेका, उत्पादन मिति नभएका खाद्यान्न भेटिएको थियो भने खानेकुरा जथाभावी रुपमा राखिएको र फोहोर पानीको प्रयोग भएको पाइएको विभागले जनाएको छ । यस्तै काठमाण्डौ मित्रपार्कमा रहेको खाद्य स्टोर पुनम ट्रेड लिंकमा छापा मार्दा हुलास कम्पनीका म्याद नाघिसकेका चामल विक्री गरेको पाइएको थियो । हुलास कम्पनीले बजारमा पठाएको प्याकेटको वासमती चामल धेरैजसो म्याद नाघेको पाइएको हो ।