लिवाङ – रोल्पाको मिझिङ गाविस-१ रुङनिवाङमा शनिबार बिहान गएको पहिरोमा परी एकै परिवारका तीनसहित सात जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये अहिलेसम्म जिल्लाको सेरम-७ घुसवाङका स्थायी बासिन्दा ७५ वर्षीय नरबहादुर बुढाथोकी, गुम्चाल-३ की २६ वर्षीय काली परियार,उनका छोरा ५ वर्षीय मिन्तु परियार, छोरी ३ वर्षीया निसा परियार र उवा गाविसका ६० वर्षीय जुनतारा घर्तीको मात्र सनाखत भएको छ । अन्य २ जनाको शव भने पहिरोबाट निकाल्ने प्रयास भइरहेको रोल्पा प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर स्थानीयका ३ वटा पक्की र ५ वटा कच्ची घर तथा काठको ८ कोठे पसलघरमा पूर्ण रुपमा क्षति पुगेको छ ।
। घरमा सुतिरहेका बखत बिहान तीन बजेको समयमा माथिबाट खसेको पहिरोले स्थानीय चन्द्र बुढाथोकी, लालबहादुर घर्ती र कमला बुढालगायतको १५ घर भत्काएको बताइएको छ । पहिरोमा पुरिएका १९ जनाको भने प्रहरीले घाइते अवस्थामा जिवितै उद्धार गरेको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले बिहानैदेखि उद्धार कार्य जारी राखेका छन् ।
उता सिन्धुपाल्चोकको कदमबास-७ स्थित अरनिको राजमार्गमा पहिरो जाँदा यातायात अबरुद्ध भएको छ । पहिरोका कारण बिजुलीको पोल ढल्दा २५ गाविस विद्युतविहीन भएको छ भने टेलिफोन सेवा पनि अबरुद्ध भएको छ।