प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिका भ्रमणको समयमा मार्क्सवाद बारे प्रवचन दिने

प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिका भ्रमणको समयमा मार्क्सवाद बारे प्रवचन दिने भएका छन्। माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराई न्युयोर्कस्थित द न्यु स्कूलको इन्डिया-चाइना इन्स्टिच्युटले आयोजना गर्ने ‘२१ औं शताब्दीमा मार्क्सवादको सान्दर्भिकता के छ ? नेपालको अनुभव’ कार्यक्रमका मुख्य वक्ता तय भएका हुन्। 
सेप्टेम्बर ३ शुक्रबार मध्यान्हदेखि तीन घण्टासम्म चल्ने कार्यक्रममा उनले माक्सर्वादको नेपाली अनुभव सुनाउनेछन् र सहभागीको प्रश्न सामना गर्नेछन्। प्रधानमन्त्री भट्टराई सहभागी हुने छलफलका अन्य वक्तामा द न्यु स्कूलका सञ्जय रेड्डी र कोलम्बिया युनिभर्सिटीमा साउथ एशिया अध्ययनका प्रोफेसर प्रथा चटर्जी छन्। न्यु स्कूलका प्रोफेसर रेड्डी विश्व विख्यात हार्डवर्ड विश्वविद्यालयबाट अर्थशास्त्रका पीएचडी हुन्।
यसैगरी वासिङ्टन युनिभर्सिटी अफ सेन्ट लुयिसका रिसर्च एशोसिएट मेरी देस तथा द न्यु स्कूलका एन्ड्रयु अराटो पनि छलफलमा वक्ताको रुपमा रहनेछन्।
भारत र चीनसम्बन्धी अनुसन्धान गर्ने इन्स्टिच्युटको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले फोटोग्राफर केभिन बुब्रिस्कीको तस्विर पुस्तक ‘माओवादी’ समेत विमोचन गर्दैछन्। अशोक गुरुङ वरिष्ठ निर्देशक रहेको इन्स्टिच्युटले भारत र चीन बारे अध्ययन अनुसन्धान गर्ने विद्यार्थीलाई अध्ययनवृत्ति दिँदै आएको छ।
राष्ट्रसंघको ६६ औं महासभामा सहभागी हुन प्रधानमन्त्री भट्टराई आज साँझै अमेरिकाका लागि प्रस्थान गर्दैछन्। सोमबार न्युयोर्क पुग्ने उनले बिहीबार राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि शुक्रबार मार्क्सवादबारे प्रवचन दिने छन्। शनिबार प्रधानमन्त्री भट्टराईको स्वदेश फर्कने कार्यक्रम छ।