दुई साताअघि धनुषाको जनकपुर-१६ बाट अपहरित २ किशोरलाई आइतबार लहान प्रहरीको टोलीले सप्तरीको भुतही-१ बाट उद्दार गरेको छ। जनकपुर-१६ निवासी २० वर्षीय भुवन मण्डल र १९ वर्षीय रवि सिंहलाई प्रहरीले उद्दार गरेको हो।
जनकपुरको रेल्बे स्टेसन सडकबाट भदौ १७ गते अपरिचित समूहको अपहरणमा परेका विद्यार्थी मण्डल र सिंह परिवारसँग अपहरणकारी समूहले जनही २० लाख भारतीय रुपियाँ फिरौती मागेको थियो। बार्गेनिङकै क्रममा प्रहरीले उद्दार गरेको सिरहा प्रहरी प्रमुख विकास श्रेष्ठले बताए। लहान इन्सपेक्टर लालध्वज सुवेदी नेतृत्वको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई उद्दार गरेको श्रेष्ठले बताए।
सिरहाको तेनुवापटी-३ बाट अपहरित कलेज विद्यार्थी सन्दीप यादवको खोजीमा गएका प्रहरी टोलीले छाप्रोमा हात र खुट्टा बाँधेको अवस्थामा दुवै विद्यार्थीको उद्दार गरेको अप्रेसन कमाण्डर सुवेदीले भने। अपहरित विद्यार्थीको अवस्था हेर्दा अपहरणकारीले उनीहरुलाई ब्यापक यातना दिएको देखिन्छ- उनले भने।
अपहरणमुक्त रवि सिंह भन्छन्- म र भुवन सँगै रेल्बे स्टेसन सडकबाट घरतर्फ गइरहेका थियौं। केही पर पुगेपछि सेतो रङको बोलेरो गाडी देखें। गाडी देखे पनि आफ्नै सुरमा बाटो काट्दै थिएँ, गाडी नजिक पुगेपछि ढोका खुल्यो, दुई जना पेस्तोल ताकेर हामी दुवै जनाको मुख बन्द गरी गाडीमा बसाए। कही पर पुगेपछि नशाको सुई दिए, हामी अचेत भयौं, अनि केही थाहा भएन्।
चेत खुलेपछि गहुँको भस्सामा हात मुख र आँखा बन्द गरेको अवस्थामा पाएँ। दिनभर राखेको स्थान मध्यराति परिवर्तन गर्थे, अपहरणमुक्त अर्का विद्यार्थी भुवनले भने। अपहरणको दुई दिनपछि आफ्नै मोबाइल नम्बरबाट अपहरणकारीले घरमा फिरौतीका लागि फोन गरेको उनले सुनाए। पहिलो फिरौतीको फोन ५० लाखको थियो, उनले थपे। पछि ५० लाखबाट घटाएर फिरौती २० लाख भारुमा झारेका अपहरणकारीले समूह गत मङ्गलवार पनि आफूहरुको परिवारसँग २० लाख नै फिरौती मागेको उनले सुनाए।
अपहरणकारीले फिरौती पाए पनि मार्ने, नपाए पनि मार्ने निधो नै गरिसकेको भुवनले सुनाए। अपहरणकारीले पछिल्लो पटक भारतीय नम्बरबाट समेत फोन गरे, मागेजतिको फिरौती रकम नबुझाए छोरा मार्ने धम्की दिएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषमा जाहेरी दिएको रविकी आमा किरण सिंहले बताईन।