सिन्धुपाल्चोकबाट चीनको तिब्बततर्फ निकासी गर्दै गरिएको अवैध रक्तचन्दन प्रहरीद्वारा बरामद

प्रहरीले सिन्धुपाल्चोकबाट चीनको तिब्बततर्फ निकासी गर्दै गरिएको अवैध रक्तचन्दन बरामद गरेको छ ।
प्रहरीले खाँडीचौर नजिकैबाट अँधेरीखोला प्रहरी चौकीले लुकाइछिपाई बिक्रीका लागि खासा लैजाँदै गरिएको ६ गोलिया अवैध रक्तचन्दन बरामद् गरेको हो । बा१ख ५६९३ नम्बरको गाडीमा लैजाँदै गरिएको चन्दन गएराति बरामद गरिएको सिन्धुपाल्चोक प्रहरीका प्रमुख एसपी राजाराम सुवालले जानकारी दिनुभयो । सुवालका अनुसार चन्दन निकासीमा प्रयोग गरिएको गाडी र त्यसका चालक डुन्डुप तामाङलाई प्रहरीले चन्दनसँगै नियन्त्रणमा लिएको छ ।
बरामद चन्दन आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सिन्धुपाल्चोकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि केही दिनअघि पनि प्रहरीले सिन्धुपाल्चोकबाटै रक्तचन्दन नियन्त्रणमा लिएको थियो । चन्दन निकासीमा मिलेमतो रहेको रहस्य खुलेपछि केही जुनियर प्रहरी अधिकृतलाई निलम्बन गरी थप कारबाही अगाडि बढाइएको छ ।