बारामा सोमबार प्रहरी र सशस्त्र समुहबीच भएको भिडन्तमा प्रहरी हवल्ददारसहित दुई जनाको मृत्यु भएको छ ।
बाराको सनफुलवा नजिकको सीमा क्षेत्र नजिकै बिहान ९ बजे भएको भिडन्तमा एक जना प्रहरी हवल्दार र एक जना सशस्त्र समुहका कार्यकर्ताको मृत्यु भएको हो । भिडन्तमा बाराको सनफुलवा प्रहरी चौकीका हवल्दार रमेश राउत कुर्मी र सशस्त्र भूमीगत समुह जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी भगत सिंह समुहका बारा अध्यक्ष अजय यादव भनिने जयमंगल यादवको मृत्यु भएको हो । यादव बाराको कबहीगोठ गाविस वडा नम्बर ३ का बासिन्दा हुन् ।
यादवको बिहान घटना स्थलमै मृत्यु भएको हो भने प्रहरी हवल्दार कुर्मीको काठमाण्डौमा उपचारका क्रममा दिउँसो साढे १२ बजे मृत्यु भएको हो । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका प्रहरी हवल्दार कुर्मीको वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो । काठमाण्डौको बीरेन्द्र प्रहरी अस्पतालमा पुरयाए लगत्तै कुर्मीको मृत्यु भएको हो ।
गस्तीमा रहेको प्रहरी टोलीमाथि सशस्त्र समुहले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताउनुभयो । भिडन्तका क्रममा प्रहरीले सशस्त्र समुहका कार्यकर्ता बारा मझरीयाका श्रीलाल यादवलाई नियन्त्रणमा लिएको हो । अर्का एकजना भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायव उपरिक्षक अनुराग द्धिवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलबाट सिक्सर पेस्तोल एक थान र त्यसको पाँच राउण्ड गोली बरामद गरेको छ ।