वाणिज्य विभागले आज काठमाडौं नरेफाँटस्थित हिमाल मिट प्रोडक्ट र बालाजु वनस्थलीस्थित कन्ट्रि फर्म हाउसमा छापा मारेको छ। विभागले हिमाल मिट प्रोडक्टमा सिलबन्दी गरेको छ भने प्रहरीले गाईको मासु विक्री गर्ने कन्ट्रि फर्म हाउसका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
विभागले प्रोडक्सन हाउसमा भटमासको मस्यौरा हालेर, भेडाको आन्द्रामा तयार गरिएको ससेजमा झिँगा भन्किरहेको फेला पारेको थियो। तर, सञ्चालकले ससेज बनाउने तरिका नै यस्तै हो भने।
विभागले फोहोर मासुको प्रयोग र अनेक मिसावट गरेको भन्दै सञ्चालकलाई तीन दिन भित्र बयान दिने पत्र सहित फर्म हाउसमा सिल गरेको छ।
खाद्य प्रविधिको अनुमति समेत नभएको कारखानाबाट बजार लान तयार गरिएको पचास केजी ससेज र ससेज बनाउन तयार पारिएको बीस केजी किमा नस्ट गरिएको छ।
त्यस्तै विभागले बालाजुस्थित कन्ट्री फर्म हाउसमा छापा मार्दा आयातित गाईको मासु विक्री गर्ने गरेको खुलासा भएको छ।
विभागले कन्ट्री फर्म हाउसले गाईको मासु बिक्री गर्ने गरेको खुलासा भएपछि सञ्चालक हसना मानन्धरलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ।
आर वि एल कोलकाता टेन्डर लोइन नाम दिइएको मासु गाईको भए/नभएमा आफू अनविज्ञ रहेको उनको भनाई थियो। रासस