सत्ताधारी माओवादी र विपक्षि एमालेपछि दोश्रो ठूलो दल नेपाली कांग्रेस घर झगडामा

सत्ताधारी एकिकृत नेकपा माओवादी र विपक्षि नेकपा एमालेपछि यतिवेला दोश्रो ठूलो दल नेपाली कांग्रेस घर झगडामा फँसेको छ।


शान्ति र संविधानको काम सिध्याएर देशमा नयाँ थिति बसाल्ने जिम्मेवारी बोकेका तीन प्रमुख दलहरु एकपछि अर्को गर्दै आफ्नै घरभित्रको बेथितिको शिकार बनेका हुन्।


नेपाल तरुण दल र महिला संघ लगायतका भातृ र भगिनि संस्था विघटनको विषय कांग्रेसभित्र पछिल्लो विवादको निहुँ बनेको छ।


विघटनको पक्षमा सभापति सुशील कोइराला र विपक्षमा बरिष्ठ नेता शेरबहादुर देउवा खेमा उभिएपछि विवाद सतहमै प्रकट भएको हो।


माओवादीको जस्तो सडकमै नउत्रिएपनि दुबै पक्षका कार्यकर्ता पार्टी केन्द्रिय कार्यालयमा विघटनको पक्ष र विपक्षमा अनसन गर्ने निर्णयमा पुगे।

 

आफूहरुको बहुमत भएकाले संस्थापन पक्षले जनवर्गिय संगठन विघटन गर्न खोजेको बुझाई देउवा पक्षको पाइन्छ।

तर पार्टी नेतृत्वलाई विफल बनाउने उद्देश्यले भातृ संस्थाले प्रभावकारी भूमिका नखेलेको ठम्याई संस्थापन पक्षको छ।


महिनौं लम्बिएको पदाधिकारी चयन विवाद सुल्झिन नपाउँदै कांग्रेस नयाँ विवादमा फसेको हो।


सरकारको नेतृत्व गर्दाताका एमालेले चर्को आन्तरिक झमेलाको सामना गर्नु परेको थियो।


प्रधानमन्त्रीबाट अध्यक्ष झलनाथ खनालले राजिनामा दिएपछि त्यो विवाद थामथुम भए जस्तो देखिएको छ।


तर एमालेपछि सरकारको नेतृत्व पाएको माओवादी पार्टीभित्र अनुशासनको दृष्टीले सम्भवत: पार्टी इतिहासकै एउटा गम्भीर कलहको आगो सल्किएको छ।


दलहरुभित्रको विवादमा राम्रो लक्षण ठीक नदेखेका राजनीतिशास्त्री कृष्ण खनाल भन्छन्, “दलहरुभित्रको विवादले शान्ति र संविधानको लक्ष्यलाई नराम्रो प्रभाव पारिरहेको छ।”


उनले बुझाईमा राजनीतिक परिवर्तनलाई संवैधानिक रुपमा ढाल्न नसके‌मा संक्रमणकाल अधिनायकवाद र तानाशाही स्थापनाको जग बन्न सक्ने खतरा पनि औंल्याए।