संयुक्त राष्ट्रंघको जारी ६६ औँ महासभामा भाग लिने क्रममा हाल अमेरिकामा रहनुभएका प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भेटघाटलाई तीव्रता दिनुभएको छ ।
प्रधानमन्त्री भट्टराई र संयुक्त राष्ट्रसंघीय महासचिव बानकी मुनबीच गएराति न्यूयोर्कमा भेटघाट भएको हो । भेटपछि न्यूयोर्कमा रहेका पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले आफूले महासचिव वानलाई नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताउनुभयो ।
त्यहाँबाट पत्रकार देब गौतमले अर्घाखाँची डट्कम् लाई दिनुभएको जानकारीअनुसार भेटमा भट्टराईले वानसँग आफ्नो नेतृत्वको सरकार विपक्षी दलहरुलाई समेत साथमा लिएर शान्तिप्रक्रिया र संविधान निर्माण टुङ्गोमा पुर्याउन प्रयासरत रहेको बताउनुभएको थियो । महासचिव वानले शान्ति प्रक्रियामा राष्ट्रसंघले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको बताइएको छ ।
प्रधानमन्त्री र भट्टराई र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच पनि छोटो भेटघाट भएको तामाङले बताउनुभयो । विश्वका सरकार तथा राष्ट्र प्रमुखको स्वागतमा ओबामाले आयोजना गरेको रात्री भोजका क्रममा भएको उक्त भेटमा शान्ति र संविधान लेखनबारे संक्षिप्त कुराकानी भएको बताइएको छ । यस्तै प्रधानमन्त्रीले भुटानी समकक्षी जिग्मेवाई थिङ्लेसँग पनि गएराति नै भेटवार्ता गर्नुभएको छ ।
भेटमा प्रधानमन्त्रीले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउन आग्रह गर्नुभएको थियो । जवाफमा थिङ्लेले शरणार्थीहरुको पुनः प्रमाणीकरण गरी स्वदेश फर्काउन तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री भट्टराई र श्रीलंककाली राष्ट्रपति महेन्द्रा राजापाक्षेबीच पनि भेटवार्ता भएको छ । भेटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासका बारेमा छलफल भएको तामाङले बताउनुभयो ।