अमेरिकाको न्यूयोर्कमा भट्टराई र ओबामाबीच भेट

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पुगेपछि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ भेटघाटमा ब्यस्त हुनु भएको छ । प्रधानमन्त्री भट्टराईले अमेरिकी राष्ट्रपति वाराक ओबामासंग भेटवार्ता गर्नु भएको छ।



प्रधानमन्त्री भट्टराईले बुधबार राती अमेरिकी राष्ट्रपति ओवामासंग  नेपालको शान्ति प्रकृया लगायतका विषयमा छोटो कुराकानी गर्नु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । ओवामाले दिएको रिसेप्सन पार्टीका क्रममा भट्टराई र ओबामाबीच छलफल भएको हो  ।



त्यस्तै प्रधानमन्त्री भट्टराईले गए राती नै संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसंग पनि मुलुकको शान्ति प्रक्रिया र संबिधान निर्माणमा भइरहेको प्रगतिबारे छलफल गर्नुभएको छ । सचिवालयले दिएको जानकारी अनुसार, महासचिब वानसंगको भेटमा प्रधानमन्त्री भट्टराईले सबै दलबीच सहमति गरेर अंघि बढन आफुले प्रयास गरिरहेको बताउनु भयो । 



नेपालको शान्ति प्रकृयाका विषयमा राष्ट्रसंघका महासचिव मुनले जिज्ञासा राख्नु भएको थियो ।



त्यस्तै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्षबीच  लुम्बिनीको बिकासमा सहकार्य गरेर अंघि बढनेबारे कुराकानी भएको छ । त्यस्तै भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेसंगको भेटमा नेपालका प्रधानमन्त्री डा. भट्टराईले भुटानी शरणार्थीका विषयमा छलफल गर्नु भएको छ ।



प्रधानमन्त्री भट्टराईले भुटानी शरणार्थी स्वदेश लैजान गरेको आग्रहप्रति भुटानका प्रधानमन्त्री थिन्लेले पुनप्रमाणिकरण गरेर स्वदेश फर्काउन आफू तयार रहेको बताउनु भएको थियो ।