खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला अनुमगन समिति धादिङको संयुक्त पहलमा आज पनि पृथ्वी राजमार्गका होटलहरुमा अनुगमनलाई निरन्तरता दिइने भएको छ ।
यसअघि बुधबार संयुक्त अनुगमन समितिले राजमार्गको नौबिसे र धार्के क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुराँहरूमा छापा मारेर अध्ययन गरेको थियो । अध्ययनका क्रममा होटलहरुले सञ्चालन अनुमति नलिएको, यात्रुहरुसँग महंगो शुल्क असुल्ने गरेको, म्याद नाघेका हल्का पेय पदार्थ तथा लेबल नलगाइएका खाद्य पदार्थ बिक्रीवितरण गरेको पाइएको टोलमा सहभागी विभागका खाद्य निरीक्षक ईश्वरी सुवेदीले जानकारी दिनुभयो ।
अनुगन टोलीले अखाद्य तथा लेबल नलागेका त्यस्ता खाद्य पदार्थहरु नष्ट गरेको थियो । ती होटलाहरुका सञ्चालकलाई तत्काल धादिङ जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । उपभोक्ताहरुबाट मापदण्डविपरीत होटल सञ्चालन भइरहेको गुनासो आएपछि अनुगमन थालिएको विभागले जनाएको छ ।