पार्टीका मोर्चा र संगठनभित्र देखिएको माओवादी बिबाद अब संसदसम्मै पुगेको छ । पार्टी नेतृत्वका सवै निर्णयविरुद्ध भण्डाफोर र बिरोध अभियान चलाइरहेको वैद्य समूहले संसदमा सरकारकै विरोध गरेर प्रतिपक्षीको भूमिका देखाउन थालेको छ ।
बिहीवार संसदमा वोल्दै माओवादी सभासद् सीपी गजुरेलले आफ्नै पार्टीले मधेसी मोर्चासँग गरेको ४ बुँदे सम्झौतालाई पार्टी निर्णयविपरित भएको भन्दै आलोचना गरे । हेर्दा लाग्थ्यो-यो माओवादीको केन्द्रीय समिति वैठक हो । उनले राहत कार्यक्रम, जग्गा फिर्ता लगायत बिषयमा पनि सरकारको आलोचना गरे ।
दशैंका मुखमा राहत कार्यक्रम घोषणा गरेको सरकारले गरिव र सुुकुम्वासीलाई घरवारबिहीन बनाएर राहत दिन खोजेको हो कि आहात भन्दै उनले वैकल्पिक ब्यबस्था नगरि कुनैपनि हालतमा जग्गा फिर्ता नहुने जिकिर गरे ।
यस्तो बिचित्रको दृष्य देखेपछि जनमोर्चाका नेता चित्रबहादुर केसीले भने- सरकार को हो, प्रतिपक्ष को हो ? यो रत्यौली कतिन्जेल गर्ने र देशलाई खाँगर पार्ने हो ? उनको भनाइ छ।
कारवाही गर्ने संस्थापन पक्षको चेतावनी
आजको कान्तिपुर दैनिकले वैद्य समूहले आत्मालोचना नगरे संस्थापन पक्ष कारवाहीको तयारीमा रहेको समाचार छापेको छ । पछिल्ला गतिबिधिप्रति आत्मालोचना नगरे कारवाही गर्ने चेतावनी संस्थापन पक्षले दिएको समाचारमा उल्लेख छ । बैद्य पक्षले भेला नै गरि पार्टीले नेपाललाई सिक्कीमिकरण गर्न लागेको निष्कर्ष निकालेपछि माओवादी अध्यक्ष प्रचण्ड निकै आक्रोशित भएको स्रोतले बताएको छ ।
प्रचण्डले यसबारे वैद्यलाई बोलाएर स्पष्टीकरण लिने तयारी गरेपनि वैद्य भने स्पष्टीकरण दिनुको साटो १३ गतेको वैठकमै आफ्नो कुरा राख्ने तयारीमा रहेको बताइएको छ । प्रचण्डनिकट नेता अग्निप्रसाद सापकोटाले भने- उहाँहरुबाट आत्मालोचना भएन भने पार्टीले कारवाहीका लागि कदम चाल्छ ।