प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्कदै

संयुक्त राष्ट्रसंघको ६६ औँ महासभामा सहभागी हुन गएको प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाली टोली आज न्युयोर्कबाट नेपालका लागि प्रस्थान गर्दैछ ।
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री टोली नेपाली समयअनुसार बिहान १० बजेपछि नेपालका लागि उड्नेछ । महासभामा भाग लिन प्रधाननमन्त्री नेतृत्वको १३ सदस्यीय टोली गत १ असोजको राति न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री भट्टराईले हिजो राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुभएको थियो । 
त्यस बाहेक प्रधानमन्त्री र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रसंघका विभिन्न अन्र्तराष्ट्रिय फोरमहरुमा भाग लिनुभएको थियो ।
प्रधानमन्त्री भट्टराईले एकसाता लामो न्युयोर्क बसाइका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलगायतका उच्च राष्ट्रसंघीय अधिकारी, अमेरिकी राष्ट्रपति बाराक ओवामा, चिनियाँ राष्ट्रपति हु जिन्ताओ, भारतीय प्रधानमन्त्री मनमोहन सिंह, श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजापाक्षे, भुटानी प्रधानमन्त्री जिग्मेवाई थिन्लेलगायतका विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग बेग्ला-बेग्लै भेटेर नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण र द्वीपक्षीय हितबा विविध विषयमा छलफल गर्नुभएको थियो प्रधानमन्त्रीको टोली भोलि स्वदेश आइपुग्ने कार्यक्रम छ ।