बुद्ध एयरको बीचक्राफ्ट विमान ललितपुरको कोटडाँडामा आइतबार विहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु भएको छ । माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्ध एयरको नाइन एन-एइके कलसाइनको १९०० डी विमान विशंखुनारायण र लामाटार गाविसको बीचमा पर्ने कोटडाँडामा आइतबार विहान दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी विमानमा सवार १९ जनाकै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसपी भोगबहादुर थापाले जानकारी दिनुभयो । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनलाई स्थानियवासी र प्रहरीको टोलीले जिबितै उद्धार गरि बी एण्ड बी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
मृत्यु हुनेमा चालक दलका तीनसहित छजना नेपाली छन् । दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुमा चालक दलका सदस्यहरु क्याप्टेन जेबी ताम्राकार, को-पाइलट पद्मा अधिकारी, एयर होस्टेस अस्मिता श्रेष्ठ रहेका छन् । यस्तै यात्रुहरु शारदा कर्माचार्य, जंगजन कर्माचार्य र निराजन कर्माचार्य रहेको बुद्ध एयरले जनाएको छ । घाइते अवस्थामा उद्धार गरिएका निराजनलाई बी एण्ड बी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
विमान दुर्घटनामा मृत्यु भएका मध्ये १० जना भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा पङ्कज मेहता, छायाँ मेहता, एस नागराजा, टि नागराजा, एल नागराजा, एचडी नागराजा, डी जालो सुवरसम, डिपी सुवरसम, जालो सुवरसम नागराजा, पी जालो सुवरसम रहेका छन् । त्यसैगरी जापानका तोसिनोरी जेनिमा तथा अमेरिकाका नाटाली नैलन र एन्ड्रयु वाडेको पनि दुर्घटनामा मृत्यु भएको छ ।
ठूलो आवाजका साथ विमान जमिनमा झरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय कुमार श्रेष्ठले विमान खस्नुअघि आकाशमै आलगागी भएको बताए । घटनालगत्तै स्थानीय र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेका थिए । विमान टुक्राटुक्रा भएको छ । स्थानीयबासी र प्रहरीले घटनास्थलमा यत्रतत्र छरिएका मृतकका शवहरुको संकलन गरेका थिए । शवहरु नेपाली सेनाको हेलीकोप्टरमार्फत अन्तर्राष्ट्रिय विमानस्थल ल्याई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदार, रक्षा मन्त्री शरत्सिंह भण्डारीलगायत सरकारका उच्च अधिकारीहरुले विमानस्थलमा शवको अवलोकन गरेका थिए ।
हुस्सुका कारण मौसम खराब हुँदा डाँडामा ठोक्किएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ६ बजेर ६१ मिनेटमा उडेको उक्त विमान अन्तिमपल्ट साढे सात बजेर ३१ मिनेटमा नियन्त्रण कक्षको सम्पर्कमा आएको थियो । सम्पर्कविहीन भएको करिब २० मिनेपछि विमान दुर्घटनामा भएको अनुमान गरिएको छ । चालक दलका सदस्यले विमानमा खराबी आएको सूचना कन्ट्रोल रुमलाई गराएका थिए । राडारमा सम्पर्क भएपछि रन वे-२ मा आपतकालीन अवतरणका लागि अनुमति समेत दिइसकिएको अवस्थामा विमान दुर्घटना भएको बताइएको छ ।
उड्डयन प्राधिकरणका अनुसार अन्तिम सम्पर्क हुँदा विमानस्थल र दुर्घटनाग्रस्त विमानबीचको दुरी मात्रै दुई मिनेटको थियो । हराएको विमानबारे माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्धकै अर्को विमानले देखेर सबैभन्दा पहिले विमानस्थल नियन्त्रण कक्षलाई जानकारी गराएको थियो ।
सुरक्षित विमान सेवाका रुपमा लिइने बुद्ध एयरको विमान दुर्घटना भएको यो पहिलोपटक हो । घटनापछि बुद्ध एयरले सूचना जारी गरी आइतबारका लागि पूर्वनिर्धारित सबै उडान रद्ध गरिएको जनाएको छ । मौशम विद्हरुले खराब मौशमबारे जानकारी हुँदाहुँदै पनि विमान उडाएइकाले दुर्घटना भएको औंल्याएका छन् ।
छानविन टोली गठन
यसैबीच सरकारले बुद्ध एयरको विमान दुर्घटनाबारे छानविन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशकुमार दलीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीलाई एक साताभित्र दुर्घटनाबारे अध्ययन गरी विस्तृत विवरण बुझाउन भनिएको छ।