झण्डै छत्तीस घन्टादेखि जारी अविरल वर्षाको कारण जनकपुरसहित धनुषाको जनजीवन अस्तव्यस्त


 

– श्यामसुन्दर शशि

 

जनकपुर  – झण्डै छत्तीस घन्टादेखि जारी अविरल वर्षाको कारण जिल्ला सदरमुकाम जनकपुरसहित धनुषाको जनजीवन अस्तव्यस्त बनेको छ । कमला नदीमा पानीको स्तर निरन्तर बढी रहेकोले पूर्वी धनुषावासीहरु सुरक्षित स्थान तर्फ पलायन गर्न थालेका छन् । जलाद नदीमा आएको बाढीबाट मध्य धनुषाको आधा दर्जन गाउँ जोखिममा परेको छ । बिन्धी गाविसको उत्तरी टोलको एक दर्जन घर टहरा क्षति ग्रस्त भएको छ । जनकपुर नगर क्षेत्रका सयौ घरमा पानी पसेको छ । नगर क्षेत्रको यातायात समेत प्रभावित भएको छ । हवाई र रेल सेवा अवरुद्ध छ । रेल व्यवस्थापनले रेल चढ्न आएका यात्रीहरुलाई च्युरा चिनी बितरण गरेको छ । हवाई अड्डा स्थित मौसम पूर्वानुमान शाखाबाट प्राप्त जानकारी अनुसार-गत चौविस घन्टामा पाँच वर्ष यताकै सर्वाधिक वर्षा भएको छ ।

नेपाल रेडक्रश शाखा धनुषाका मन्त्री नरेशप्रसाद सिंहका अनुसार-बिन्धीस्थित पोखरीको पानी ओभर फ्लो भएर पोखरीमा डिलमा रहेको झण्डै एक दर्जन घर क्षति ग्रस्त भएको छ । केही घर चर्केको पनि छ । दक्षिणी धनुषाको फुलगामा,मुखियापटी मुसरनिया र पूर्वी धनुषाको फूलवरिया,ईनर्वाआदि गाउँमा वर्षाको पानी छिरेको छ । जलाद नदीमा आएको बाढीबाट मध्य धनुषाको कनकपटी,भोइल,औरहीआदि गाउँ जलमग्न भएको छ । क्षतिको विवरण भने आउन सकेको छैन ।

हिजो अपरान्हदेखि सुरु भएको अविरल वर्षा अझै पनि जारी छ । पानीको कारण जनकपुरको किसोरी नगर,जनकपुर चुरोट कारखाना क्षेत्र,शान्ति नगर,भानु चौक,मुसहरी टौल,कैम्पस एरिया,हवाई अड्डालगायतका अधिककांश इलाका  जलमग्न भएको छ । नागरिक उड्यन कार्यालय जनकपुरका प्रमुख सुधीर कुमार ठाकुरका अनुसार-हवाई अड्डाको पार्किंग एरियामा दुई फिट पानी छ । कर्मचारी निवासमा समेत पानी छिरेको छ । अत्यधिक वर्षाको कारण हवाई सेवा अवरुद्ध भएको छ ।

हवाई अड्डास्थित जलवायु शाखाका रामदुलार राउतका अनुसार-हिजो  विहान पौने नौवजेदेखि सोमवार विहान पौने नौवजेको बीचमा यहाँ १सय ४१मिलीलिटर पानी परको छ । आज दिनभरि पानी परकोले गत ३६घन्टामा झण्डै अढाई सय मिलिलिटर पानी परेको अनुमान गरिएको छ ।

यसैगरी अविरल वर्षाको कारण मुलुकको एकमात्र रेल सेवा समेत संचालन हुन सकेको छैन । रेल्वेका महाप्रवन्धक सुरेशकुमार यादवले रेल चढ्न आएका यात्री तथा वर्षाबाट विस्थापित बनेका स्थानीयवासीहरुलाई च्युरा चिनी वितरण गरेका थिए । महाप्रवन्धक यादवले भने-रेल चढ्न आएका यात्री तथा झुपडी र टेन्ट बनाएर बसोवास गर्दै आएका गरिव गुरुवाहरुको लागी प्लेटफार्ममा बसोवासको व्यवस्था समेत मिलाईएको छ ।

जिल्ला स्थित दैवी प्रकोप उद्धार समितीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले अविरल वर्षाको कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेको बताए । दक्षिणी र पूर्वी धनुषामा भौतिक क्षति भएको जानकारी प्राप्त भए पनि मानवीय क्षतिको सूचना प्राप्त नभएको उनले बताए । प्रजिअ यादवका अनुसार-वर्षा जारी रहेको तथा पहाडी क्षेत्रमा समेत पानी परको कारण बाढि आउने खतरा उत्पन्न भएको छ । उनले जिल्लावासीहरुलाई सतर्क रहन सार्वजनिक अपिल समेत गरेका छन् ।