फेरि केन्द्रीय कमिटी बैठक सर्न सक्ने दाहालको संकेत



माओवादी अध्यक्ष पुष्पकमल
दाहालले दुई पटक मिति सारेर आगामी भदौ १३ गतेलाई तय गरिएको पार्टी
केन्द्रीय कमिटी बैठक पुनः सर्न सक्ने संकेत गरेका छन्।
उनले ‘बैठक लामो हुने भएकाले दसैं पछि’ लैजान सकिने बताए। 


आरामका लागि शान्त वातावरण खोज्दै सपरिवार यहाँ आएका दाहालले
सोमबार राजधानी फर्कनुअघि स्थानीय सम्वाददातासँग संक्षिप्त प्रतिक्रिया
दिँदै भने, ‘बैठकबारे भोलि (मंगलबार) अन्तिम टुंगो लाग्छ।’ उपाध्यक्ष
बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा मधेशी मोर्चासँग गरेको चार बुँदे
सहमतिलाई लिएर अर्का उपाध्यक्ष मोहन बैद्य पक्षले असहमति जनाएपछि उत्पन्न
विवाद टुंग्याउन केन्द्रीय कमिटीको बैठक मिति तोक्दै सर्दै आएको छ।

केन्द्रीय समिति बैठक दुई पटक सरिसकेको छ। यअघि भदौ २ गतेलाई तय बैठक
प्रधानमन्त्री संयूक्त राष्ट्रसंघीय महासभामा भाग लिन गएपछि १३ गतेलाई
सारिएको थियो। तर अध्यक्ष दाहालले बैठकको तयारी भने पूरा भइसकेको जिकिर
गरे। ‘बैठक अलि लामो हुन्छ कि भन्ने हो,’ उनले भने। बैठकका लागि एजेण्डा
तय गर्न आउनु भएको रे’ नि हो? भन्ने जिज्ञासामा उनले आफू ‘थकाई’ मेट्न
मात्र आएको बताए।

दाहालले शान्ति प्रक्रिया र संविधान लेखनलाई अघि
बढाएर दसैं, तिहार र छठ जस्ता पर्व उत्साहपूर्वक मनाउने वातावरण सिर्जना
गर्न आफ्नो पार्टीले दलहरुसँग प्रयत्न गरिरहेको बताए। उनले भने, ‘उत्साह
हुने सन्देश दिन सकिन्छ कि भन्ने लागेको छ।’ सञ्चारकर्मीको अर्को जिज्ञासा
मेट्दै दाहालले उपाध्यक्ष वैद्य पक्षप्रति लक्षित गर्दै ‘पार्टीका केही
साथीहरुको विरोधले शान्ति प्रक्रिया अवरुद्ध नहुने’ उल्लेख गरे। वैद्य
पक्षको विवाद लगायत सबै मुद्दा केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने भन्दै
उनले थपे, ‘किरणजीहरुसँग पनि कुरा भइरहेको छ। ठूलो पार्टीमा बहस हुनु
स्वभाविक हो।’

४५ दिनभित्र शान्ति प्रक्रिया टुंग्याउने प्रतिवद्धता
अनुसार कामको थानली भइसकेको बताउँदै अध्यक्ष दाहालले कांग्रेस, एमाले र
मधेशी मोर्चासँग यस विषयमा गम्भिर छलफल भइरहेको जनाए। केही दिनभित्रै
शान्ति प्रक्रियाबारे टुंगो लाग्ने उनको भनाइ छ। संविधान लेखनमा धेरै कुरा
बाँकी नरहेको जिकिर गर्दै उनले भने, ‘दुई, अढाई महिनामा मस्यौदा ल्याउन
सकिन्छ।’ संविधान लेखनका विवादित विषय शासकीय स्वरुपमा खासै समस्या नरहेको
औंल्याउँदै कांग्रेसको निर्णय नआउँदा राज्य पुनःसंरचनाको मुद्दा टुंगो
लाग्न नसकेको आरोप लगाए। ‘राज्य पुनःसंरचनाका लागि विज्ञ राख्ने मोटामोटी
सहमति दलहरुबीच भइसकेको छ,’ दाहालले भने।
News update By Binod gaire Binodgaire@sandhikharka.com