बाबुराम भट्टराई प्रधानमन्त्री भएको एक महिना पुगेको छ । शान्ति प्रक्रिया टुंगोमा पुर्याएर संविधान निर्माण गर्ने जिम्मेवारी बोक्दै प्रधानमन्त्री बन्नुभएका भट्टराईले मूख्य काममा खासै प्रगति नगरेपनि प्रचारात्मक काम भने राम्रै गर्नुभयो ।
जनस्तरबाट प्रशंसा बटुल्ने खालका काममा खुबै ध्यान दिनुभएका भट्टराईले ४५ दिनभित्र शान्ति प्रक्रिया टुग्गो लगाउने भनि सुरुमा दिएको अभिव्यक्ति महिनादिन नपुग्दै सच्चाउनु भयो । सरकार गठन भएको ४५ दिन नभएर दलहरुसँग सहमति भएको ४५ दिनमा काम सक्ने आफूले बताएको भन्ने उहाँको स्पष्टीकरण अमेरिका भ्रमणबाट आउँदा आउँदै आयो । पार्टीभित्रका वैद्य समूहको चर्को आलोचनाका बीचपनि शिविरमा रहेका हतियार कन्टेनरको साँचो आफै अध्यक्ष रहेको सेना समायोजन विशेष समितिलाई बुझाउने कामबाहेक उहाँबाट खासै काम भएको छैन् । प्रधानमन्त्री हुने बित्तिकै स्वदेशमा निर्मित मुस्ताङ गाडी चढेर प्रचार पाउनु भएका भट्टराइले सरकारी खर्चमा मितव्ययिता अपनाउने घोषणा पनि गर्नुभयो । तर उहाँकै क्याबिनेटमा बसेकाहरुले उहाँको पथ पहिल्याउन सकेका छैनन् ।
मन्त्री र सरकारी अधिकारीहरुलाई आचारसंहिता बनाउने, जनतालाई तत्काल राहतका नाममा केही कार्यक्रम घोषणा गर्ने उहाँको यो अवधिका अरु प्रचारात्मक काम हुन् । यो अवधिमा प्रधानमन्त्री आफ्नै दलका कारण अप्ठ्यारोमा पर्नुभयो । साँचो प्रकरणमा त वैद्य पक्षले सडकमै ओर्लेर सरकारबिरुद्ध नाराबाजी गर्यो । यही अवधिमा भूकम्प र विमान दुर्घटना जस्ता प्राकृतिक प्रकोप मुलुकले ब्यहोर्नु पर्यो । भूकम्पको पीडामा मुलुक रहेका बेला प्रधानमन्त्री जेट चढेर अमेरिका दौडिएकोमा उहाँको आलोचना भयो भने शान्ति सुरक्षा सुदृढ र चुस्त बनाउने प्रतिवद्धता त हिजो काठमाडौको घण्टाघरमा भएको गोलीकाण्डले उदांगो पारिदिएको छ ।
प्रधानमन्त्री बनेलगत्तै मधेशी दललाई फकाउने नाममा दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाउने निर्णय गरेर विवादमा तानिनु भएका उहाँ महिना दिनको मुखैमा आइपुग्दा आफ्नै क्याबिनेटका रक्षा मन्त्री शरतसिंह भण्डारीले दिएको मुलुक टुक्र्याउने अभिव्यक्तिले थप संकटमा पर्ने संकेत देखिएको छ ।