– भ्रातृ संगठन विघटनको विवादमा बरिष्ठ नेता शेरबहादुर देउवाले राजीनामा दिएपछि उत्पन्न परिस्थितिबारे दुवै पक्षले समीक्षा गरेका छन्।
बहुमतका आधारमा संस्थापन पक्षले चार भातृ संगठनहरु विघटन गरेपछि चर्केको झगडामा दुवै पक्षले आ आफ्ना अडान अहिलेसम्म छोडेका छैनन्।
फुट र जुटको अनुभव भोगिसकेका कारण फुटतिर भन्दा दुवै पक्षको जोड जुटतिरै रहेको छ।
प्रजातान्त्रिक पार्टीमा बहुमतको कदर हुनुपर्छ भन्दै भ्रातृ संगठन विघटन गर्ने निर्णयमा अडिग रहेका कांग्रेस सभापति सुशील कोइरालाले देउवाको राजीनामामाथि उत्पन्न परिस्थितिबारे संस्थापन पक्षका नेताहरुसँग बिहीबार आफ्नै निवासमा छलफल गरेका थिए।
देउवासँग छलफल गरेर मिलेरै जानुपर्ने अधिकांश नेताहरुको राय आएपछि सभापति कोइराला केही नरम भएको हुनसक्ने संकेत पार्टी उपसभापति रामचन्द्र पौडेलले गरे।
झगडा मिलाउन मध्यमार्गीहरु सक्रिय रहँदै आएका छन्।



